Prakash Adhikari April 4, 2021

काठमाडौं, २२ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा-एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीले पार्टीभित्रका प्रतिस्पर्धीहरु समाप्त पार्न चाल्नुभएको अनुशासनको कारबाही भुत्ते सावित भएको छ  ।

उहाँले चलाउनुभएको अनुशासनको कारबाहीको कुनै पर्वाह नै नगरिकन उहाँको कोपभाजनमा परेका कार्यकर्ताहरुले नेकपा एमालेको संगठन जोगाउनको लागि शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री एवम् पार्टीका पूर्वमहासचिव माधवकुमार नेपालको नेतृत्वमा पार्टीको संगठन निर्माण र सुदृढीकरण अभियान सञ्चालन गर्ने भएका छन् । सो अभियान अन्तरगत वडा तहसम्मै कमिटी बनाइने छ ।

पार्टी अध्यक्ष ओलीले दुई किस्तामा पार्टीका शीर्ष नेता माधवकुमार नेपाल, उपाध्यक्ष डा.भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनासम्म पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेपछि नेपाल खनाल समूहले यस्तो निर्णय गरेको हो । सो समूहको स्थायी कमिटी सदस्यहरुको शुक्रबार र शनिबार बसेको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई विसर्जनतर्फ लैजान अग्रसर भएकोले पार्टीलाई जोगाउन अपरिहार्य भएको भन्दै ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ नयाँ अभियान घोषणा गरेको हो ।

नेपाल खनाल समूहले पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ ।

नेकपा एमालेका स्थायी समिति सदस्य रघुजी पन्तले घोषित दुई महिने अभियान अन्तरगत वडा तहसम्म पार्टी र जनवर्गीय संगठन बनाउने, अधिवेशनबाट निर्वाचित कमिटीहरुलाई बाइपास गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानान्तर कमिटीहरु बनाएकाले त्यसका विरुद्ध निर्वाचित कमिटीहरुलाई पुनस्र्थापित गर्ने, तिनीहरुमार्फत तल्ला तहका संगठन निर्माण गर्ने र अघिल्लो अधिवेशनका क्रममा निर्वाचित संगठनहरुलाई पुनर्जीवित गर्ने कार्यक्रम रहेको बताउनुभएको छ ।

त्यसका लागि केन्द्रीय सदस्य र नेताहरुलाई पार्टी प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा खटाइनेछ ।

नेकपा एमालेका निर्वाचित सचिव योगेश भट्टराईले यो अभियान पार्टी एकताको रक्षाका लागि भएकोले सर्वोच्च अदालतको फागुन २३ को फैसलाअनुसार नेकपा एमाले पुनर्जीवित भएपनि पार्टी अध्यक्षले यसलाई सक्रिय र संगठित बनाउन ध्यान दिनुको सटट विभाजित र विखण्डित बनाउने दुस्साहस गरेकोले गल्ती महसूस गर्दै २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन स्थायी समितिको बैठकले एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको छ ।

बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारीका स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

शुक्रबार शनिवार बसेको नेपाल खनालपक्षीय स्थायी समितिको बैठकले ४ र ५ चैतमा भएको राष्ट्रिय कार्यकर्ता भेला तथा केन्द्रीय र स्थायी कमिटी सदस्यह्रुबाट आएको सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । बैठकले पार्टीमा उत्पन्न अन्तरविरोधको राजनीतिक, वैचारिक, संगठनत्मक पक्ष तथा पार्टीमा देखा परेको कार्यशैलीगत समस्यालाई समेटेर प्रशिक्षण सामाग्री बनाउने र देशभर पठाउने निर्णय समेत गरेको छ ।

 

Share Now

Leave a comment.