Prakash Adhikari April 4, 2021

काठमाडौं, २२ चैत्र । विभाजनको डिलमा पुगेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा एमाले)लाई जोगाउन पदीय मर्यादालाई तिलाञ्जली दिएर राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय हुन थाल्नुभएको छ ।

यसै क्रममा शनिबार दिउँसो राष्ट्रपति भण्डारी नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाललाई भेट्न उहाँको निवास डल्लु पुग्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहीसक्नुभएका नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले राष्ट्रपतिसँग पार्टीभित्र देखिएको विवादका विषयमा पनि कुराकानी भएको बताउनुभएको छ । उहाँले राष्ट्रपति भण्डारीले पनि पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना व्यक्त गरेको बताउनुभयो।

‘हामीले एकछिन भलाकुसारी गर्‍यौं। विगत र वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्‍यौं’, नेता खनालले भन्नुभयो, ‘उहाँले पार्टी, आन्दोलन एकतावद्ध भएर जाओस, लोकतन्त्र राम्रो भएर जाओस, सुदृढ भएर जाओस, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गर्नुभयो।’

एमालेका शीर्ष नेता खनालका अनुसार राष्ट्रपति भण्डारीले ‘लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरु नै बलियो हुनुपर्छ। सबै पार्टीहरु बलिया हुन, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस र नेकपा एमाले पनि बलियो होस भन्ने नै मेरो चाहना रहेको हो। तपाईहरु अहिले पनि सकेसम्म मिलेर जानुहोस भन्ने सुझाव दिनुभयो।

यसभन्दा अगाडिसम्म प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लाग्नुभएकी राष्ट्रपति एकाएक पार्टी एकताको पक्षमा देखिनु रहस्यको विषय भएको छ । गत बैशाख महिनामा अध्यादेश जारी गर्दा प्रधानमन्त्री ओलीबाहेक कसैको कुरा नसुन्ने, गत मंसिर महिनामा अध्यादेश ल्याउदा पनि कसैको कुरा नसुन्ने,संविधान विपरीत प्रतिनिधिसभा विघटनको सिफारिस ल्याउदा पनि आँखा चिम्लेर अनुमोदन गर्ने राष्ट्रपति भण्डारी बंगलादेश जानुपूर्व गरिएको सर्वदलीय बैठकमा पनि निर्वाचनमा जानुपर्ने ओलीको विचारको समर्थन गर्नुभएको थियो ।

शुक्रबार भएको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई हटाउने निर्णय गर्नु र शुक्रबार र शनिवार भएका नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय स्थायी समितिको बैठकले पार्टी अध्यक्ष ओलीले गर्ने अनुशासनको कारबाहीको पर्वाह नगरिकन देशब्यापी संगठन निर्माण र सुदृढीकरणको कार्यक्रम सार्वजनिक गरेपछि पद जाने भयले प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई दौडाएको अनुभव गरिएको छ ।

सवै पार्टीमा गुट उपगुट र अन्तरविरोधका कारण असामान्य स्थिति भएकोले ती पार्टीहरु जुटाउन पनि राष्ट्रपति भण्डारी नेपाली कांग्रेसका तीन गुटका नेताहरु, जनता समाजवादी पार्टीका गुटगुटका दर्जन नेताहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका  नेताहरुको घरमा पुग्नुहुन्छ कि हुँदैन यो पनि हेर्नुपर्ने हुन्छ । उहाँ एमालेको राष्ट्रपति हो कि सिंगै देशका सबै पार्टी र जनताको अभिभावक पनि हो ? त्यसैले प्रष्ट्याउने छ ।

 

Share Now

Leave a comment.