Prakash Adhikari April 4, 2021

 

काठमाडौं, २२ चैत । बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर भष्म भएका छन् । आगो निभाउने क्रममा ४ जना घाइते भएका छन् ।

नरैनापुर गाउँपालिका वडा नं। ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले आगलागीबाट करोडौंको क्षति भएको अनुमान बताउनुभएको छ । आगलागीबाट अन्नपात, काठ, लत्ताकपडा, भाँडाकुँडा जस्ता जिन्सी सामान, गरगहना र नगद जलेर नष्ट भएका छन् । आगो निभाउन पाँचवटा दमकल ल्याउन परेको थियो ।

स्थानीयले दिएको समाचार अनुसार फकिर खाँको गोठबाट सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा बस्तीभर फैलिएको थियो ।

जुम्लाको तिलामा ३५ घर जले

राष्ट्रिय समाचार समितिले पठाएको एक अर्कोे समचारमा जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर भष्म भएका छन् ।

७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने प्रयास भइरहेको छ ।

वडाध्यक्ष बोहोराका अनुसार आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।

यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर भष्म भएका थिए ।

Share Now

Leave a comment.