Prakash Adhikari April 9, 2021

काठमाडौं २७ चैत्र । प्रतिगमनकारी ओली सरकारको विकल्पमा नयाँ सरकार निर्माणको लागि प्रमुख विपक्षी नेपाली कांग्रेसले शुक्रबार अपरान्ह आयोजना गरेको तीन दलीय बैठक सम्पन्न भएको छ ।

बैठकमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिहरु समक्ष आफ्नो नेतत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राखेको छ । नेपाली कांग्रेसको प्रस्तावमा जसपाले छलफल गर्न समय मागेको छ भने नेकपा माओवादीले सहमती जनाएको छ ।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि तीन दलको पहिलो पटक बैठक बसेको हो । गत पुस ५ गते प्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरी प्रतिनिधि सभाको विघटन गर्न गरेको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयन भएपछि प्रतिनिधि सभा पुनस्थापनाको लागि तीनै दलले आन्दोलन गरेका थिए । तर पुनःस्थापित प्रतिनिधिसभालाई प्रभावकारी बनाउन र प्रतिगमनकारी ओली सरकारलाई विस्थापन गर्ने सम्बन्धमा भने सामूहिक बैठक बसेको यो पहिलो पटक हो ।

नेपाली कांग्रेसका सभापति देउवाको बुढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयको बारेमा पनि जानकारी गराउनुभएको थियो ।

‘आजको बैठकमा औपचारिक रुपमै प्रस्ताव राख्यौ र तपाईहरुले राख्ने धारणापछि साझा ढंगले एउटा निर्णयमा पुगौं भनेर बैठक आयोजना गरेको भनेर सभापति देउवाले प्रस्ताव राख्नुभयो,’ बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारकर्मीसंग भन्नुभएको थियो।

बैठकमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी भएको र राज्यसत्ता कब्जा गर्न खोजेको र यस्ता सरकारले लोकतान्त्रिक चुनाव गराउन नसक्ने भन्दै कांग्रेसको नेतृत्वमा तीन दलको सरकार बनाउनु पर्ने जिकिर गर्नुभएको थियो ।

हामीले यस विषयमा कुनै छलफल गरेको छैन । औपचारिक प्रस्ताव आएकोले अब छलफल गछौं,’ जसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा भन्नुभएको थियो ।

ठाकुरसहित जसपाका नेताहरुले मधेश र थारुहट आन्दोलनका मुद्दा फिर्ता, बन्दीहरुको रिहाइ, क्षतिपूर्ति लगायतका मुद्दामा पनि सरकारमा सहभागी हुनुपहिले प्रष्ट हुनुपर्ने माग राख्दै आएका छन् । नयाँ सरकार गठनका लागि सबैभन्दा पहिले औपचारिक रुपमा कार्यदल बनाएर पार्टीहरुसग वार्ता आरम्भ गरेको जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी भइरहेको र केही विषय कार्यान्वयन प्रक्रियामा गएको जानकारी पनि बैठकमा गराएको थियो ।

जसपाका मागहरुलाई नपाली कांग्रेसले पनि सकारात्मक रुपमा नै लिएका छन् । कांग्रेसका नेताहरुहरुले माओवादी द्धन्द्धकालका मुद्दाहरुलाई जसरी नै मधेश र थरुहट आन्दोलनका क्रममा भएका विषयहरुलाई व्यवस्थापन गर्न सकिने तर्क राख्दै आएका छन् ।

बैठकमा माओवादी केन्द्रका नेताहरुले नयाँ सरकार गठन गर्ने कांग्रेसको प्रस्तावको स्वागत गरेका छन् । प्रतिगमनकारी ओली सरकारलाई विस्थापन गरी नया सरकार बनाउन जसपाले छिट्टै निर्णय गर्ने भनेकाले आफूहरु त्यसको प्रतीक्षामा रहेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

बैठकमा कांग्रेसका सबै पदाधिकारी उपस्थित हुनुहुन्थ्यो भने जसपाबाट संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङले सहभागिता जनाउनुभएको थियो ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार नयाँ सरकार गठनबारे छलफल गर्न तीन दलको अर्को बैठक छिट्टै बस्नेछ ।

Share Now

Leave a comment.