लण्डन(संयुक्त अधिराज्य), २७ चैत्र(बीबीसी) । महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ।
राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिबाह गर्नुभएको थियो।
त्यो महारानी एलिजाबेथले राजगद्दी सम्हाल्नु पाँच वर्ष अगाडि थियो।
बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुखका साथ महारानीले आफ्ना प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको छ।’
‘महामहिमको शान्तिपूर्वक आज बिहान विन्डसर क्यासलमा निधन भएको छ।’
गत महिना ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज हुनुभएको थियो।
राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन्।
उहाँका छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मनुभएको थियो। त्यसपछि राजकुमारी एन् सन् १९५० जन्मनुभएको थियो भने ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा र अर्ल अफ वेसेक्स प्रिन्स एडवार्ड सन् १९६४ मा जन्मनुभएको थियो।
प्रिन्स फिलिप ग्रीसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा जन्मिनुभएको थियो। उहाँ हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा सुपुत्र हुनुहुन्थ्यो।
उहाकी आमा, राजकुमारी एलिस, लर्ड लुइ अफ ब्याटनबर्गकी छोरी र रानी भिक्टोरियाका पनातिनी हुनुहुन्थ्यो।
फिलिपको जीवनी

महारानीप्रति उहाँले देखाएको सुदृढ र निरन्तर समर्थनका कारण ड्यूक अफ एडिन्बरा प्रिन्स फिलिपले ६० वर्षभन्दा बढी समयदेखि व्यापक सम्मान पाउनुभयो।
उहाँले वहन गरेको भूमिका जो कसैको निम्ति पनि कठिन किसिमको थियो।अझ विविध विषयमा आफ्नो कडा धारणा राख्ने नौसेनाका अधिकृतका लागि त यो झनै कठिन थियो।
तर व्यक्तित्वको सोही सबल पक्षले उहाँलाई आफ्ना जिम्मेदारीहरू प्रभावकारी ढङ्गले निर्वाह गर्न सहयोग गर्यो। साथै आफ्नी पत्नीलाई रानीको कर्तव्य पूरा गर्न सम्पूर्ण सहयोग गर्न उहाँले सक्नुभयो।
महारानीका पतिको रूपमा उहाँलाई कुनै पनि संवैधानिक हैसियत प्राप्त थिएन। तर राजसंस्थाको नजिक उहाँभन्दा धेरै अरू कोही थिएन र उहाँ जति महत्त्वपूर्ण रानीका लागि अरू कोही थिएन।
प्रिन्स फिलिपको जन्म सन् १९२१ को जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो।

राजकुमार फिलीप
साधारण स्कूले जीवन
उहाँको जन्म ग्रीसको राजपरिवारमा भएको थियो। सन् १९२२ मा भएको सत्तापलटपछि उहाँका पितालाई एउटा क्रान्तिकारी अदालतले ग्रीसबाट निष्काशन गरिदियो।
त्यसपछि उहाँ आफन्तहरूका साथ इङ्ग्ल्यान्ड पुग्नुभयो र सरीस्थित प्राथमिक विद्यालयमा भर्ना हुनुभयो। पछि उहाँ स्कटल्यान्डको गोर्डन्स्टन स्कूलमा पुग्नुभयो।
आत्मनिर्भरतामा जोड दिने गोर्डन्स्टनको सादा शैली, आमाबुवाबाट छुट्टिएका किशोर फिलिपका निम्ति एकदमै उपयुक्त थियो।
सैन्य सेवा
दोस्रो विश्व युद्धको सँघारमा फिलिपले सैन्य सेवामा प्रवेश गर्ने निधो गर्नुभयो।
उहाँले रोयल न्याभीमा जागिर थाल्नुभयो।

राजकुमार फिलीप
त्यसैताका सन् १९३९ मा उहाँको त्यस बखतकी राजकुमारी एलिजाबेथसँग पहिलो महत्त्वपूर्ण भेट भयो।
लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उहाँहरूको विवाह भयो। सो घटनालाई विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा ब्रिटेनमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गर्नुभएको थियो।
सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेको बेला ब्रिटेनका राजा जोर्ज छैटौँको निधन भयो।
आफ्नी पत्नीलाई अब तिमी रानी भयौ भन्ने समाचार सुनाउने जिम्मा प्रिन्स फिलिपकै थियो।

राजकुमार फिलिप
उहाँका एकजना मित्रले पछि बताएअनुसार त्यतिखेर फिलिपले आधी संसार आफ्नै थाप्लोमा आइपरेको जस्तो अनुहार लगाउनुभएको थियो।
यसरी सन् १९२१ मा ग्रीसको राजपरिवारमा जन्मिएका फिलिप दोस्रो विश्वयुद्धपश्चात् ब्रिटेनको राजपरिवारका केन्द्रीय व्यक्ति बन्न पुग्नुभयो।
आफ्नो राज्याभिषेकलगत्तै रानीद्वारा जारी गरिएको घोषणामा उहाँलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरियो।
फिलिपले रानीलाई सदा उहाँको कार्यमा सघाउ पुर्याउनुभयो। तर उहाँका आफ्नै रुचिहरू पनि थिए। फिलिपले थुप्रै परोपकारी कार्यको अभियान चलाउनुभयो।
उहाँको विशेष रुचि युवाहरूको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा थियो।

राजकुमार फिलीप
साथै आफूलाई लागेको कुरा स्पष्ट बोल्ने व्यक्तिको रूपमा उहाँको परिचय स्थापित भयो। त्यसो गर्दा उहाँलाई कतिपय अवसरमा अप्ठेरो पनि आइपर्यो।
सन् १९८६ मा शाही भ्रमणका बेला चीनमा भएको एउटा घटना सोही सन्दर्भमा निकै चर्चित रह्यो।
त्यहाँ बसेका ब्रिटिश विद्यार्थीहरूसँगको अन्तर्क्रियामा उहाँले लामो समय चीनमा बसे उनीहरूको पनि आँखा ुचिम्सोु हुने बताउनुभएको थियो।
उक्त टिप्पणीलाई लिएर चीनमा धेरै चासो नजनाइए पनि ब्रिटिश ट्याब्लोइड पत्रिकाहरूले त्यसबारे निकै चर्चा गरे।
सुदृढ समर्थन
फिलिप प्रतिबद्ध र आत्मनिर्भर व्यक्ति हुनुहुन्थ्यो। उहाँले आफूलाई ब्रिटिश समाजको केन्द्रमा पाउनुभयो।
एक पटक बीबीसीसँग बोल्ने क्रममा उहाँले भन्नुभयो, ‘मैले केवल मैले सकेजति राम्रो गरेको छु। तपाईँ के गर्न सक्नुहुन्छरु मेरो शैली म अचानक परिवर्तन गर्न सक्दिनँ।’

राजकुमार फिलीप
सार्वजनिक जीवनबाट अवकाश
दशकौँसम्म रानीको समर्थनमा तथा अन्य परोपकारी संस्थाका निम्ति विभिन्न कार्यक्रमहरूमा भाग लिएका प्रिन्स फिलिपले सन् २०१७ को अगस्टमा सार्वजनिक जीवनबाट अवकाश लिनुभएको थियो।
बकिङ्गम प्यालेसका अनुसार सन् १९५२ देखि त्यतिन्जेलसम्म उहाँ झन्डै २२ हजार त्यस्ता कार्यक्रममा सहभागी हुनुभयो।
प्रधानमन्त्री टरिजा मेले फिलिपले सार्वजनिक सेवामा पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नुभएको थियो।
आफ्नो पदको प्रयोग गरी ब्रिटिश जीवनमा योगदान दिन फिलिप सफल रहनुभयो।
राजसंस्थालाई बदलिँदो सामाजिक भावना बुझ्न उहाँले सहयोग पुर्याउनुभयो।
प्रिन्स फिलिपको सबैभन्दा ठूलो उपलब्धि चाहिँ लामो शासनकालमा उहाँले रानीलाई निरन्तर दिएको सुदृढ समर्थन र सहयोग नै हो।


















