चितवन, ३० चैत (रासस) । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएकाको संख्या ६ पुगेको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज (सोमबार) बिहान दिएको जानकारीअनुसार घाइतेमध्ये थप १ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो। पछिल्लो समय चितवनको राप्ती नपा ४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठको मृत्यु भएको हो।
यस अगाडि राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठको सोही दुर्घटनामा मृत्यु भएको थियो । मृतक मध्ये एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन ।
थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा सवार १९ जना घाइते भएका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य रहेको छ ।
घाइते मध्ये रौतहट दिबिहीका १९ वर्ष अरुण राम, दबिही नपाकै वर्ष २७ विजय राम, बाराको कचौराहा गापा ८ का वर्ष २७ का रामआधार राम, चितवन राप्ती नपा ४ बस्ने वर्ष ३० का नीरबहादुर श्रेष्ठ, नामथर वतन खुल्न नसकेका २४र२५ वर्षका व्यक्ति, मकवानपुरको राक्सिराङ गापा ७ का २४ वर्षीय रमन चेपाङ र बाराको कोल्हबी नपा ५, वर्ष ३२ का प्रभुकुमार रामको अवस्था गम्भीर छ।
मध्यम अवस्थाका घाइतेमा चितवन खैरहनी नपा ७, मझुहीका २६ वर्ष चालक राजन चौधरी, रौतहट मधुनारायण नपा १, वर्ष २२ पप्पु महरा, चितवन खैरहनी ९ वर्ष २५, मञ्जु चौधरी, सोही स्थान बस्ने २१ वर्षकी सरिता चौधरी, बाराको सिम्रनगढ नपा ५ का २१ वर्षीय अवधेश पासवान, सोही नपा वडा नम्बर ८ बस्ने वर्ष २३ का शिवजीकुमार राम, बाराको बुद्धगाउँ नपा ८ का २० वर्षीय विराज चौधरी, मकवानपुरको कान्द्राङ गापा ४ का वर्ष २० का रङलाल प्रजा, मकवानपुरको सिलिङे गापा ६ का वर्ष २५ का दानिर प्रजा, रौतहटको दिपही नपा १, वर्ष २४ का नागेश्वर चमार, मकवानपुर राक्सिराङ गापा २ वर्ष ४२ अजय सिंजाली र रौतहट दिपी नपा २, वर्ष १४ का नितेश राम हुनुहुन्छ।
प्रहरीका अनुसार राप्ती नगरपालिका–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्रयाक्टरमा राप्ती नगरपालिकाकै ११ नम्बर वडा कार्यालय भवन ढलान गरेर भण्डारा फर्किंदै गरेका मजदुर सवार थिए।
घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटना आइतबार साँझ ७ः३० बजे भएको हो ।


















