कीर्तिपुर(काठमाडौं), ४ बैशाख । आजदेखि नेपाल, नेदरल्याण्डस् र मलेसियाबीचको त्रिकोणात्मक टी २० क्रिकेट सिरिज सुरु हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सग प्रतिस्पर्धा गर्ने भएको छ । घरेलु मैदानमा उच्च मनोबलका साथ उत्रिने तयारीमा रहेको नेपाली टीमका पूर्व कप्तान पारस खड्काले अभ्यास खेलमा लागेको चोटका कारण खेल्न नसक्ने जनाउदै आफ्नो नाम टिमबाट फिर्ता लिएपछि उनको सट्टा सन्दीप जोरालाई राष्ट्रिय टिममा राखिएको छ।
यस्तै, दोस्रो खेल मलेसियासँग वैशाख ६ मा हुनेछ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ।
नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल मलेसिया वैशाख ९ गते खेल्ने भएको छ।
डबल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने सिरिजमा सहभागी तिन वटा टिमले एक अर्कासंग २ । २ खेल खेलेपछि अंकतालिकामा उत्कृष्ट हुने दुई टिम बीच फाइनलमा प्रतिस्पर्धा हुनेछ।
सिरिज अन्तर्गत लिग चरणमा ६ वटा र फाइनल गरि कुल ७ वटा खेल खेलिने छन्।लिगमा शीर्ष दुईमा स्थान बनाउन सकेको खण्डमा नेपालले वैशाख ११ गते फाइनल खेल्नेछ।
आइसिसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानमा तय भएको प्रतियोगिता स्थगित भए पनि क्यानले मलेसिया र नेदरल्याण्ड्सलाई बोलाएर सिरिज गर्न लागेको हो।
नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। नेपालले पछिल्लो पटक २०२० को मार्चमा थाइल्यान्डमा एसिसी इस्टर्न रिजन प्रतियोगिता खेलेको थियो।
क्यानले त्रिदेशी कप हेर्नका लागि त्रिवि मैदानमा प्रवेश मूल्य १ सय ५० रुपैयाँ तोकेको छ।
त्रिकोणात्मक टी–२० सिरिजका लागि नेदरल्यान्ड्स र मलेसियाको क्रिकेट टिम गत मंगलबार नेपाल आइपुगेका हुन्।
सिरिजका सम्पूर्ण खेलहरु विभिन्न टेलिभिजन र अनलाइन माध्यमबाट विश्वका १ सय ४१ देशबाट लाइभ हेर्न सकिने क्यानले जनाएको छ।


















