Prakash Adhikari April 17, 2021

कीर्तिपुर (काठमाडौं), ४ बैशाख । नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि २० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई शानदार ढंगले पराजित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
नेदरल्याण्डले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले मात्र १ विकेट क्षतिमा १५ ओभरमा पूरा गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात उत्कृष्ट रह्यो। कुशल भुर्तेल र आसिफ शेखले १ सय १६ रनको ओपनिंग साझेदारी गरे। टि २० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका भूर्तेलले ४६ बलमा ५ चौका र ५ छक्काका मद्दतले अर्धशतक बनाउने क्रममा ६२ रन बनाए ।

भुर्तेलको विकेट पछि ब्याटिड.मा आएका कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाए भने ओपनर ब्याट्सम्यान आसिफ शेखले ३८ बलमा ४ चौका र ४ छक्काको मद्दतले अविजित ५४ रन बनाए ।

आसिफ र कुशलबीच भएको १ सय १६ रनको ओपनिंग साझेदारी नेपालको टि २० क्रिकेट इतिहासकै सर्वाधिक ओपनिंग साझेदारी हो।

यस अघि यो रेकर्ड पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा थियो जसले २०१९ डिसेम्बरमा नेपालमा आयोजित साग खेलमा भुटान बिरुद्ध १ सय ८ रनको ओपैंग साझेदारी गरेका थिए। टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा यो साझेदारी दोश्रो सर्वाधिक साझेदारी हो।

नेदरल्याण्ड्सको कमजोर प्रदर्शन

यस अघि टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १ सय ३६ रन बनाएको थियो।

नेदरल्याण्डको सुरुवात खराब रह्यो। दोश्रो ओभरमा १० रन बनाएका ओपनर म्याक्स ओ’ डोडलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट गरे। लगत्तै ओभरमा खाता नखोल्दै सोमपाल कामीले बेन कुपरलाई एलबिडब्लु आउट गरे।

तेश्रो विकेटको लागि ओपनर स्कट एड्वार्ड्स र बास डी लिडेले ६१ रनको साझेदारी गरे। १४ औं ओभरमा एड्वार्ड्सलाई शाहब आलमले क्याच आउट गराएर साझेदारी तोडे र पहिलो अन्तर्राष्ट्रिय विकेट समेत लिए। एड्वार्ड्सले ३२ बलमा २ चौका र १ छक्का मद्दतले ३० रन बनाए। ४१ रन बनाएका बास डी लिडलाई १७ औं ओभरमा सन्दीप लामिछानेले क्याच आउट गरे। लिडले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

पाँचौ विकेटको लागि कप्तान पिटर सिलार र एन्टोनियस स्टालले ३६ रनको साझेदारी गर्दै नेदरल्याण्डलाई सम्मानजनक योगफलसम्म डोर्याए। सिलारले १७ बलमा २ चौका र १ चौका मद्दतले अविजित २२ रन बनाए भने स्टालले आक्रामक ब्याटिंग गर्दै मात्र ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित २० रन बनाए।

अन्तिम ५ ओभरमा नेदरल्याण्डले मात्र १ विकेट गुमाएर ५८ रन बनायो।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक २ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान १ । १ विकेट लिए।

सिरिज अन्तर्गत आइतबार नेदरल्याण्ड र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। नेपालले आगामी खेल सोमबार मलेसियासंग खेल्ने तालिका रहेको छ।

सहभागी तिन वटा टिमले एकअर्का बिरुद्ध २ ।२ खेल खेलेपछि अंकतालिकामा उत्कृष्ट हुने दुई टिमले फाइनल खेल्नेछन्।

 

Share Now

Leave a comment.