Prakash Adhikari April 17, 2021

 

काठमाडौं, ४ बैशाख (बीबीसी) । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा अमेरिकासँगको अनुदान सम्झौता मिलेनीअम च्यालेन्ज सम्झौता (एमसीसी( को विषयलाई लिएर सभामुख अग्नि सापकोटाप्रति आक्रोश व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

एमसीसी करिब पौने दुई वर्षदेखि संसद्‌मा अड्किएको र त्यसलाई सभामुखले अगाडि प्रस्तुत नै नगरेको भन्दै प्रधानमन्त्रीले बैठकमा गुनासो गरेको नेताहरूले बताएका हुन्।

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले, ‘प्रधानमन्त्रीको एउटा मुख्य कुरा सभामुखले काम गर्न दिनुभएन भन्ने गुनासो थियो, एमसीसी अगाडि बढाउनुभएन भन्ने थियो।’

सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकटस्थ नेता मानिनुहुन्छ।

सर्वदलीय भनिएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनको दलका अरू कुनै नेता उपस्थित हुनुभएन।

 

बैठकबारे बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘सभामुखले यसरी रोक्न मिल्दैन। प्रतिनिधिसभाको अधिकार हो, यसबारेमा छलफल गर्नुपर्छ र वैशाख ७ गतेअगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर छलफलमा लैजानुपर्छ। संसद्ले पास गर्छरगर्दैन संसद्को विषय हो, तर सभामुखले स्वेच्छाचारी ढङ्गले रोक्न मिल्दैन।’

प्रधानमन्त्री ओलीले यसअघि पनि सार्वजनिक रूपमा सभामुख सापकोटाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो।

थापाका अनुसार एमसीसी संसद्‌मा अगाडि नबढेको विषयमा आफूले सभामुखसँग कुरा गर्दा आफ्ना नेताले ूअगाडि बढाउन नभनेकोू भन्ने जबाफ दिएको प्रधानमन्त्रीले बैठकमा बताउनुभएको थियो ।

बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो, ‘सभामुखले एमसीसीलाई टेबल गर्नुभएन। मैले पटकपटक भनिसकेको छु तापनि भएको छैन, त्यसैले सबै दलले यो अजेन्डा पेस गर्नुपर्छ। सरकारको अजेन्डा रोक्नुहुँदैन’ भन्नुभयो।

Image

प्रधानमन्त्री ओली

तीन दलको भनेर झुक्याएको प्रचण्डको कथन

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू विमलेन्द्र निधि, बालकृष्ण खाँडलगायत उपस्थित थिए।

सर्वदलीय बैठक भनी माओवादी केन्द्रलाई नबोलाइएको प्रचण्ड निकटस्थ स्रोतहरूले बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओलीले प्रचण्डलाई शुक्रवार फोन गरेको भए पनि त्यसमा सर्वदलीय बैठक नभनेको बताउनुभयो।

‘कांग्रेस सभापति, तपाईँ र म बसौँ भनेर प्रधानमन्त्रीले फोन गर्नुभएको थियो। अध्यक्ष (प्रचण्ड)ले बालुवाटारमा होइन, सिंहदरबारमा बसौँ भन्ने कुरा राख्नुभएको थियो। सर्वदलीय बैठक भनेर भनिएकै थिएन’, सापकोटाले भन्नुभयो।

उक्त बैठकमा एमालेका शीर्ष नेता झलनाथ खनाललगायत नेपाल खनाल पक्षका कुनै पनि नेता सहभागी हुनुभएको थिएन।

त्यसबाहेक जनता समाजवादी पार्टी नेपालका नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव पनि उपस्थित हुनुभएन।

सहभागी नेताहरूको भनाई

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाहेक अन्य पार्टीले सरकारले संसद्‌मा पेस गरेको एमसीसीको प्रस्ताव संसद्ले रोक्नु नपर्ने धारणा राखेको नेताहरूले बताउनुभएको छ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो, ‘सभामुखले तजबिजी अधिकार प्रयोग गरेर, जुन तजबिजी अधिकार उहाँसँग छैन, त्यसलाई लामो समय रोक्न मिल्दैन भन्ने कुरामा सबै दलको साझा धारणा रह्यो।’

‘संसद्ले जे गर्छ तर बिज्नस रोक्न मिल्दैन भनेर सबै दलहरूले छलफल गर्नुभएको छ र यो विषयमा सभामुखसँग, कार्यव्यवस्था परामर्श समितिमा र अरू विभिन्न ठाउँमा छलफल गरेर यो विषयलाई टुङ्गोमा पुर्‍याउनुपर्छ भनेर छलफल भएको छ’,प्रवक्ता ज्ञवालीले भन्नुभयो।

अरू के कुरा भयो ?

एमसीसीबाहेक बैठकमा नेपालमा कोभिडको पछिल्लो अवस्थाबारे पनि छलफल भएको नेताहरूले बताउनुभएको छ।

सङ्क्रमण रोकथामका लागि आवश्यकतानुसार हटस्पटमा विद्यालय बन्द गर्ने, जात्रापर्वहरूमा सर्वसाधारणको भिडभाड हुन नदिने विषय उठेको बताइएको छ।

त्यसबाहेक स्थानीय तहदेखि प्रदेश सभा अनि प्रतिनिधिसभा र राष्ट्रिय सभामा रिक्त स्थानमा उपचुनाव गर्नेबारे छलफल भएको नेताहरूले बताउनुभयो।

Share Now

Leave a comment.