Prakash Adhikari February 10, 2018

काठमाडौं, २७ माघ । संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टीका बीच प्रदेश नं २ मा सरकार गठन र प्रदेश सभा सञ्चालनका लागि पदीय भागवण्डमा सहमति भएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका अध्यक्ष महन्थ ठाकुरका बीचमा शनिबार काठमाडौंको तीनकुनेस्थित फोरम पार्टी कार्यालयमा भागवण्डाको सहमति भएको हो ।

दुई पार्टीबीच भएको सहमति अनुसार मुख्यमन्त्री, उपसभामुख र तीन मन्त्रालय संघीय समाजवादी फोरमले पाउनेछ छ भने राजपाले सभामुखसहित तीन मन्त्रालय लिने सहमति भएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुरद्वारा हस्ताक्षर गरिएको सहमति पत्रमा मुख्यमन्त्री र उपसमामुखसहित आन्तरिक मामिला (गृह) तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र अर्थ तथा योजना मन्त्रालय संघीय फोरम नेपालको भागमा परेको छ ।

राजपाको भागमा सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेका छन् ।

प्रदेश नम्बर दुईमा फोरम र राजपाको बहुमत छ । १ सय ७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ । तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस प्रमुख विपक्षी दल हुने निश्चित भएको छ ।

दुई मधेसी गठबन्धनको तालमेलपछि अब फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री हुने निश्चित भएको छ ।

फोरमले यसअघि नै राउतलाई संसदीय दलको नेता छानिसकेको छ ।

Share Now

Leave a comment.