काठमाडौं, १० बैशाख । जंगबहादुर राणाले राज्यलक्ष्मी देवीबाट अधिकार लिएर नेपालमा राणा शासन स्थापना गरेजस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको आडमा राज्यका सम्पूर्ण शक्ति हातमा लिएर अकण्टक राज्य सञ्चालन गर्ने अधिनायकवादी मार्गमा हिड्नु भएका प्रधानमन्त्री के.पी. शर्मा ओली पार्टीभित्रका विरोधीहरुलाई सिध्याउने अनुशासनको कोतपर्वको तयारीकै बीचमा एकाएक माधव नेपालसंग पाँचतारे वार्तामा प्रकट हुनुभयो ।
प्रधानमन्त्री ओली कोरोनाले संकटग्रस्त मुलुकका नागरिकको कल्याणकालागि पार्टीभित्रको मनमुटाव विर्सेर जनताको सुख र देशको समृद्धिमा अग्रसर हुन लाग्नुभयो भन्ने कार्यकर्ताको आशामा त बिहिबारको असफल वार्ताले तुषारापात नै भैसकेको छ । तर कारबाहीको लागि मानसिक रुपमा तयार भएको बेलामा एकाएक पार्टी एकताको लागि असन्तुष्ट पक्षका नेतासंग संवादको लागि पनि उहाँ आफ्नो अन्तरमनले नभएर प्रदेश सरकार धर्मराउन थालेकोले तयार भएको खुलासा भएको छ ।
गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुड.ले पोखरामा यसको खुलासा गर्नुभएको छ । आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि नयाँबर्षको दिनमै प्रदेश मन्त्रिपरिषद्को आकास्मिक बैठक बसेर हिउँदे अधिवेशन रातारात अन्त्य गराउने निर्णय गर्नुभएका मख्यमन्त्री गुरुड.ले प्रदेशमा अनपेक्षित रुपमा आएको संकट केन्द्रमा पनि आउन सक्ने र नेकपा एमाले राज्यका सबै सरकारबाट बाहिर पर्नसक्ने जोखिम देखेर दुई नेताहरुलाई भेट गराउने उत्प्रेरकको भूमिका खेल्न अग्रसर भएको बताउनुभएको छ ।
प्रदेश अधिवेशन अन्त्य गरेर पोखराबाट काठमाडौं आउनुभएका गुरुड.ले एकर्काको राजनीतिक जीवन समाप्त पार्न अग्रसर पार्टीका दुई शीर्ष नेताहरुबीच आइस ब्रेक गराउन सफल भएको बताउदै घटनाको खुलासा यसरी गर्नुभएको छ, ‘माधव समूहमा सकारात्मक पक्षमा को को छ भनेर खोजीमा थिएँ। नयाँ पार्टीमा नजाने मान्छेको खोजीमा। अलि अघि घनश्यामजीसँग कुरा भएको थियो। उहाँ र गोकर्णजीको फोन लागेन। त्यसपछि मैले योगेशजीलाई बोलाएँ ।’
एमाले सचिवसमेत रहेका मुख्यमन्त्री गुरुङले अर्का सचिव योगेश भट्टराई पनि पार्टी एकताकै पक्षमा रहेको बताउदै भन्नुभयो, ‘योगेशजी नयाँ पार्टीमा जाने मुडमा हुनुहुन्न भनेर मैले विश्वस्त सूत्रबाट थाहा पाए। उहाँले कमिटीको बैठकमा अब नयाँ पार्टी खोलेर जानुपर्छ भन्नेहरूका विरुद्ध आफ्नो मत राख्नुभएको थाहा पाएपछि मैले सम्पर्क गरेर ल दुई भाइ बसौं भनें। हामी दुई भाइ दुई घण्टा छलफल गर्यौं।’
उहाँले आफूहरुबीच वैशाख ७ गते ललितपुरको धोबीघाटमा भेटघाट भएको थियो। उक्त भेटको सुरूमै पार्टीभित्रका वादविवादमा गुणदोष नकेलाएर समाधानका उपाय खोज्न आपसी सहमति भएपछि आफूले नै योगेशलाई प्रधानमन्त्री ओलीसँग भेट्न तारतम्य मिलाएको उहाँले बताउनुभएको छ।
‘अब तपाईंले प्रधानमन्त्रीसँग भेट्न पर्यो। त्यहाँ (नेपाल समूह)को समस्या राख्नपर्यो। प्रधानमन्त्रीलाई पनि अलि संवेदनशील बनाउन पर्यो। हाम्रो कुरा सुन्ने ठाउँमा पुर्याउन पर्यो। म प्रधानमन्त्रीलाई फोन गरेर भेट्नका लागि सबैलाई समय मिलाउने कुरा मिलाउँछु। त्यति सहमति कायम गरेर हामी छुट्टियौं। त्यही रात साढे ९ बजेतिर म प्रधानमन्त्रीलाई भेट्न गएँ,’ गुरुङले भन्नुभएको छ।
प्रधानमन्त्री ओलीसँग आफूले पार्टी र सरकार सञ्चालनका बारेमा धेरै कुरा गरेको बताउदै गुरुड.ले भन्नुभयो, ‘नेपाल समूहमा लागेका सकारात्मक पक्षका मान्छेहरू कोको हुन् भन्ने बुझियो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका एमालेका सांसदहरूले नयाँ पार्टी खोले भने एमालेमै बस्ने र मान्छेहरू खोजी गरियो। यसबारे संवाद अघि बढाउन प्रधानमन्त्रीलाई अनुरोध गरें।’
त्यही भेटमा माधव नेपाललाई पनि संवादमा बोलाउने भनेर छलफल गरेको गुरुङले बताउनुभयो।
‘माधव नेपाल धेरै पर पुगिसक्नुभएको छ, संवाद गरेर यता ल्याउन पर्यो भनियो,’ गुरुङले भन्नुभयो, ‘भोलिका दिनमा जसरी पनि योगेशजीलाई पनि भेट्न मैले प्रधानमन्त्रीलाई भनें, उहाँले हुन्छ जसरी नि भोलि भेट्छु भनेर भेट्नु भयो पनि।’
वैशाख ८ गते योगेश भट्टराईलाई फोन गरेर बालुवाटारबाट भेटघाटका लागि खबर आएनआएको आफूले जानकारी लिएको बताउदै गुरुङले भन्नुभयो, ‘योगेशजीले बालुवाटारबाट बोलाएको खबर आएको बताएपछि मैले त्यहाँ (नेपाल पक्ष)का समस्या, सूचना र प्रवृत्तिका बारेमा विस्तृतमा जानकारी गराउनुहोला भनें।’
योगेश भट्टराईसँग छलफलपश्चात आफूले पनि माधव नेपालसँग कुराकानी थाल्न प्रधानमन्त्रीलाई आग्रह गरेर ओली र नेपालबीचको संवादहीनता ‘आइसब्रेक’ गराउने सफलता मिलेको बताउदै मुख्यमन्त्री गुरुड.ले भन्नुभयो ‘उहाँहरू (ओली र नेपाल)लाई जुटाइदिने मान्छेको पनि अभाव देखियो । मतभेद बढ्दै जानुको एक कारण यो पनि हो ।
प्रधानमन्त्री के.पी.ओली र एमालेका शीर्ष नेता माधवकुमार नेपालबीचको सम्वादको श्रेय एकथरीले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगदलाई दिन खोजेपनि उहाँले नेपालको माडवारी समुदायकै लगानीमा खुलेको नक्सालको होटल मेरियटमा भेट गर्र्ने बन्दोबस्त मिलाएको हुन सक्छ, राजनीतिक चाँजोपाँजो भने राजनीतिक व्यक्तिहरु पार्टीका सचिवद्धय पृथ्वी सुब्बा गुरुड. र योगेश भट्टराईले मिलाएकोमा दुइमत राख्नुपर्ने अवस्था छैन । यद्यपि वार्ताको दर्शक दीर्घाको साक्षी बनेको दावी भने सल्लाहकार दुगडले गरिसक्नुभएको छ ।


















