Prakash Adhikari April 25, 2021

काठमाडौं, १२ बैशाख । कोरोनाभाइरस सङ्क्रमण भएपछि नर्भिक अस्पताल भर्ना हुनुभएका पूर्वराजदम्पतीलाई अक्सिजन दिएर राखिएको छ तर उहाँकी सुपुत्री प्रेरणा राज्यलक्ष्मीको अवस्था भने सामान्य रहेको छ ।

उहाँहरू (पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह) दुवै जनालाई अक्सिजनको सपोर्ट दिइएको छ,’ अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भन्नुभयो, ‘हिजो (शनिवार) ज्वरो र छाती दुख्ने समस्या देखिएको थियो। आज ज्वरो छैन र छाती दुख्ने समस्या पनि कम भएको छ। लक्षणहरू कम हुँदै गएको छ।’

बास्तोलाका अनुसार पूर्वराजा शाहकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनुपरेको छैन र उहाँको अवस्था आमाबुवाको जस्तो छैन।

कहिलेसम्म अस्पताल बस्नुपर्छ?

राजदम्पत्तीको अस्पताल बसाईँको समयावधिबारे जिज्ञासा राख्दा बास्तोलाले भन्नुभयो, ‘नेगेटिभ रिपोर्ट नआएसम्म उहाँहरू बस्नुहुन्छ। कति दिन बस्नुपर्छ भन्ने कुरा अहिले भन्न सकिन्न।’

पूर्वराजाका सचिव फणिराज पाठकका अनुसार चिकित्सकहरूको सल्लाहअनुसार पूर्वराजदम्पती र छोरी प्रेरणा शनिवार दिउँसो १ बजेदेखि अस्पताल भर्ना हुनुभएको हो ।

भारतमा कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्वराजदम्पतीमा गत मङ्गलवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

पाठकले मङ्गलवार बीबीसीलाई बताएअनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वराजदम्पती निर्मल निवासमै आइसोलेसनमा बस्दै आउनुभएको थियो।

पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर गत आइतवार पूर्वराजा र आफ्नी रानीसहित नयाँ दिल्लीबाट नेपाल फर्किनुभएको थियो।

कुम्भमेलामा गङ्गास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गर्नुभएको थियो।

भारतमा कुम्भमेलामा सहभागी सयौँ मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

पूर्वराजाले नेपाल फर्किनुअघि नयाँ दिल्लीमा परीक्षण गराएको तर त्यतिबेला सङ्क्रमण नदेखिएको उहाँसँगै यात्रामा रहनुभएका सचिव पाठकले बताउनुभएको थियो।

हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले उहाँको त्यहाँ परीक्षण भएको थियो।

नेपाल फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र एउटा विज्ञप्ति जारी गरी हरिद्वारमा आफूले पाएको “विशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति’ निरञ्जन पीठका पीठाधीश कैलाशानन्द गिरी तथा समस्त सन्तमहात्माप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो।

उहाँ निरञ्जन पीठका पीठाधीशको निम्तोमा कुम्भमेलामा सहभागी हुन हरिद्वार जानुभएको थियो ।

Share Now

Leave a comment.