Prakash Adhikari April 25, 2021

काठमाडौं, १२ बैशाख । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ ।

कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले दिनुभएको जानकारी अनुसार परीक्षा स्थगित भए पनि भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट गरिने पठनपाठन भने जारी राख्ने निर्णय भएको छ ।

यस पहिले सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि विभिन्न प्रतिबन्धात्मक आदेश जारी गर्दै चालु परीक्षाहरू नरोक्ने निर्णय गरेको थियो तर परीक्षाका नाममा भीडभाड भएको भन्दै सीसीएमसीले तत्कालका लागि सबै परीक्षा रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।

अरु के के निर्णय भए ?
बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ ।
सीसीएमसीले पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

सीसीएमसीले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । ट्रान्सजिट उडान रोक्न र स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्न पनि सिफारिस भएको छ ।

 

Share Now

Leave a comment.