वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १५ बैशाख(बीबीसी) । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ।
खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ मापदण्डमा उल्लेख गरेको छ।
तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै पनि मास्क लगाउन उसले भनेको छ।
हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।
सफलताप्रति खुसी
सीडिसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गर्नुभएको छ।
उहाँले कोरोनाभाइरस खोपका पूर्ण मात्रा लगाइसकेका मानिसहरूलाई अब बाहिर मास्क लगाउन नपर्ने बताउनुभएको छ।
उक्त घोषणापछि उहाँ ह्वाइट हाउसमा मास्कविना केहीबेर हिड्नुभएको छ।
महामारीविरुद्ध लडाइँमा अमेरिकाले चमत्कारी प्रगति हासिल गरेको भन्दै उहाँले ज्यानुअरीमा कार्यभार सम्हालेयता सङ्क्रमण तथा मृत्यु नाटकीय ढङ्गले घटिरहेको बताउनुभयो।
“आजदेखि साथीभाइसँग पार्कमा भेट्दा वा पिकनिकमा जाँदा यदि तपाईँले खोप लगाइसकेको हो भने र यदि बाहिर खुला हावामा हुने हो भने मास्क लगाउनु पर्दैन”, उहाँले भन्नुभयो, “उपलब्ध आँकडा हेरेर हाम्रा वैज्ञानिकहरू यसरी खुला हावामा खोप लगाइसकेकाहरू भेट्दा भाइरस सङ्क्रमण हुने सम्भावना अत्यन्त कम रहेकोमा विश्वस्त भएका छन्।”
राष्ट्रपति बाइडनले खोप नलगाएका अमेरिकीहरूलाई खोप लिएर “देशभक्तिपूर्ण” कार्य गर्न पनि आह्वान गर्नुभयो।
खो”पले बिल्कुल तपाईँको ज्यान जोगाउने काम गर्छ र साथै यसले तपाईँ वरपरका अरू मानिसलाई पनि जोगाउँछ- अनि यसले हामीलाई सामान्य जीवनशैलीमा फर्कन मद्दत गर्छ”,उहाँले भन्नुभयो।
स्वास्थ्य अधिकारीहरूले मङ्गलवार ह्वाइट हाउसमा नयाँ सुरक्षा मापदण्ड प्रस्तुत गरेका थिए।

राष्ट्रपति बाइडन
“बाहिरी खुलास्थलमा हुने साना तथा मध्यमस्तरका जमघटमा खोप लगाएका मानिसहरूले मास्क नलगाएर पनि सुरक्षित हुन सकिन्छ”, सीडिसीकी निर्देशक डा. रोसेल वालेन्स्कीले भन्नुभयो।
तर बाहिरै भएको जमघट पनि यदि ठूलो छ भने त्यहाँ मास्क लगाउने कि नलगाउने भन्ने विषय सो ठाउँमा हावाको ओहोरदोहोर कत्तिको राम्रो छ अनि मानिसहरूबीच कति दूरी हुन्छ भन्ने जस्ता कुरामा भर पर्ने उहाँले बताउनुभयो।
यी मापदण्ड अनुसार पूर्ण खोप लगाएको भन्नाले कुनै व्यक्तिले खोपको निर्धारित मात्रा पूरा गरेको दुई सातापश्चात् भन्ने बुझ्नुपर्छ।
बाहिर जोखिम कम
प्रमाणहरूका अनुसार बाहिर खुला हावामा कोभिड १९ सङ्क्रमण हुनसक्ने भए पनि त्यसको जोखिम अत्यन्त कम हुन्छ।
साथै प्रारम्भिक अध्ययनहरूले पूर्ण खोप लगाइसकेका मानिसहरूले भाइरस सार्ने सम्भावना पनि निकै कम हुने देखाएको छ।
डा. वालेन्स्कीका अनुसार खोप लगाएका मानिसहरूलाई मास्क लगाउन अनुरोध गर्नु भनेको खासगरी खोप नलगाएकाहरूलाई जोगाउनका निम्ति हो।
अमेरिकामा खोप अभियान विस्तार हुँदै जाँदा त्यहाँ सङ्क्रमण स्थिर हुन थालेको स्वास्थ्य अधिकारीहरूले बताएका थिए।
अप्रिल २६ सम्ममा करिब १४ करोड अमेरिकीहरू( कूल जनसङ्ख्याको करिब ४२% ले खोपको कम्तीमा एक मात्रा लगाइसकेको सीडिसीले जनाएको छ।


















