काठमाडौं, १७ बैशाख । कोरोनाको दोस्रो लहरले देश आक्रान्त भएको बेला भ्रष्टाचारमा लिप्त के.पी.ओलीको सरकारले कोभिड खोप पैसा तिरेर ल्याउन सकेको छैन, तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अनुरोधमा संयुक्त राज्य अमेरिका भने नेपाललाई खोप सहयोग गर्न राजी भएको छ ।
यस कुराको खुलासा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आफ्नै निवासमा गर्नुभएको पत्रकार सम्मेलनमा गर्नुभएको हो ।
पत्रकार सम्मेलन पछि वितरित प्रेस विज्ञप्तिमा भनिएको छ,यस अघि नै नेपाली कांग्रेसले विकसित मित्र राष्ट्रहरुलाई आफ्नो अग्रीम वुकिङ गरेको खोप संख्याबाट आवश्यक नभएको खोप नेपाल जस्ता देशहरुलाई उपलब्ध गराउन अनुरोध गरेको थियो । यसै बीच संयुक्त राज्य अमेरिकाले खोप सहयोग गर्ने निर्णय गरेको छ ।
कांग्रेसले यस यस निर्णयको स्वागत गर्दै अन्य विकसित मित्र राष्ट्रहरुलाई पनि खोप सहयोग पु¥याउन अनुरोध गरेको छ ।
सरकार असंवेदनशील र अकर्मण्य
नेपाली कांग्रेसले वर्तमान ओली सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमण्यताको कारण यस्तो परिस्थिति आएको बताएको छ ।
यो सरकार न विगतका गल्तीहरुबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ भन्ने आरोप लगाउदै नेपाली कांग्रेसले प्रधानमन्त्री ओली अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक—भडकमा मग्न हुँदै संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले मुलुक फेरि लकडाउन गर्ने स्थितिमा पुगेको जनाएको छ ।
नेपाली कांग्रेसले अत्यन्त कम संख्यामा पिसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिने बताएको छ ।
उसले भनेको छ, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । बढ्दो संक्रमण सँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ ।
सरकारले काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा १५ दिने निषेधाज्ञा लगाउने निर्णय गरी कोभिड—१९ परिक्षण नगरी यहाँका अस्थायी बासिन्दालाई उपत्यका छोड्ने समय दिएकोमा पनि आलोचना गरेको छ । यसले परीक्षण बिना लाखौं मानिसहरु लकडाउन नभएका कम संक्रमित जिल्लाहरुमा पुगेका र त्यसबाट व्यापक संक्रमण बढ्ने खतरा भएको उसले जनाएको छ ।
नागरिकसंग अनुरोध
नेपाली कांग्रेसले सरकारको अकर्मण्यताबाट आम नागरिकले जीवन गुमाउन पर्ने अवस्था विकसित नहोस भन्दै यस प्राणघातक रोगबाट जोगिन सबैलाई आह्वान पनि गरेको छ ।
उसले कोभिड–१९ को संक्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन कोभिड–१९ स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न अनुरोध गर्दै संक्रमणमा परेकालाई उपचारको पहुँचमा पुर्याउन आफ्नो पार्टीको पडि.त प्रतिबद्ध रहेको जनाएको छ ।
उसले सबै नागरिकलाईअनिवार्य मास्क लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न नेपाली कांग्रेसका केन्द्र देखि स्थानीय तहसम्मका सबै संरचनाहरुलाई देशभरी सचेतना अभियान संचालन गर्न क्रियाशील गराउने जनाएको छ ।
यसका साथै कोभिड—१९ बाट संक्रमित भई उपचारको पहुँचमा पुग्न समस्यामा परेकाहरुलाई हरसम्भव सहयोग गर्न पनि पार्टी संरचनाहरुलाई सक्रिय गराइने कांग्रेसले जनाएको छ ।
कांग्रेसले लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकाहरुलाई गत समयमा जस्तै सहयोग अभियान चलाउन नेपाली कांग्रेस क्रियाशील हुने प्रतिबद्धता पनि जनाएको छ ।
कांग्रेसको ११ बूँदे माग तथा सुझाव
नेपाली कांग्रेसले देशमा देखा परेको अपूर्व स्वास्थ्य संकटलाई समाधान गर्न ११ बूँदे सुझाव पनि दिएको छ । जसमा भनिएको छ :-
- कोभिड–१९ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चित गरियोस् ।
- कोभिड—१९ संक्रमितहरुलाई आवश्यक अस्पताल बेड, आइसियु वेड लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको तत्काल समुचित व्यवस्था गरियोस् ।
- देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुको पिसीआर परिक्षणलाई व्यापक गरियोस् ।
- सिमा नाकाहरुमा अनिवार्य पिसिआर परिक्षण र परिक्षणको नतिजा नआउन्जेल होल्डीङ केन्द्रहरुमा राख्ने व्यवस्था गरियोस् । परिक्षणमा संक्रमित देखिएकाहरुलाई स्थानीय निकायहरुको समन्वयमा आइसोलेसन केन्द्रहरुको व्यवस्था गरी राखियोस् ।
- स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीहरुलाई विमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गरियोस् । बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गरियोस् ।
- पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारको गैर जिम्मेवारीपूर्ण रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था स्निश्चित गर्न फेरि माग गर्दछौं ।
- खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गरियोस् ।
- लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवत—जावतलाई सहज गरियोस् ।
- विदेशमा जानेहरुलाई आवश्यक पिसिआर परिक्षण गर्ने अस्पतालहरुको संख्या बढाइयोस् ।
- लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याइयोस् ।
- मास्क अनिवार्य लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजवुत गरियोस् ।


















