वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १८ बैशाख(बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले नेतृत्व गरेको प्रशासनका चिकित्सा सल्लाहकार र ख्यातिप्राप्त महामारी विशेषज्ञ डा.एन्थोनी फाउचीले भारतमा फैलिरहेको कोरोनाभाइरस सङ्क्रमण रोक्नका लागि तत्काल केही हप्ताका लागि लकडाउन गर्न जरुरी रहेको बताउनुभएको छ।
कुनै पनि राष्ट्र बन्द रहन नचाहने तर भारतमा तत्काल केही हप्ता लामो लकडाउन गर्नाले सङ्क्रमणको साङ्लो (चेन) तोड्न सकिने उहाँले बताउनुभयो ।
यसले भारतलाई कठिन अनि निराशाजनक अवस्थाबाट निस्कनका लागि तत्कालीन, मध्यकालीन अनि दीर्घकालीन महत्त्वपूर्ण कदम उठाउनका लागि समय दिने उहाँको भनाइ छ।
अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले सातजना अमेरिकी राष्ट्रपतिसँग काम गरिसक्नुभएको छ ।
भारतीय पत्रिका द इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा उहाँले भारतको अवस्थाबारे चर्चा गर्नुभएको छ । डा. फाउचीसँगको कुराकानीको अंश यस्तो छः
तपाईँ सरकारको साथमा भए के गर्नुहुन्थ्यो ?
सबैभन्दा पहिलो कुरा के भने म भारतले कोरोनाभाइरस सङ्क्रमणको स्थितिलाई कसरी सम्हाल्यो भन्ने विषयबारेको आलोचनामा सामेल हुन चाहन्नथेँ किनभने यो राजनीतिक मुद्दा बन्ने थियो।
म यस्तो गर्न चाहन्न किनकि म स्वास्थ्य क्षेत्रसँग जोडिएको छु र म कुनै राजनेता होइन। मलाई लाग्छ भारत अहिले निकै कष्टकर र निराशाजनक स्थितिमा छ।
जब तपाईँ यस्तो अवस्थामा रहनुहुन्छ तपाईँले तुरुन्तै समग्र रूपमा विचार गर्नुपर्ने हुन्छ।
सबैभन्दा पहिले के हेर्नुपर्छ भने तपाईँले तत्काल कस्तो कदम उठाउन सक्नुहुन्छ र आगामी दुई हप्तामा तपाईँ के गर्न सक्नुहुन्छ ?
खोप लगाउनु एउटा उपाय हुन सक्छ। यो अत्यन्तै जरुरी पनि छ।
तर यसले अक्सिजन, अस्पताल भर्ना हुनुपर्ने अवस्था र उपचार जस्ता आवश्यकताहरूलाई कम गर्न भने सक्दैन किनकि खोपको असर हुन केही समय लाग्छ।
भारतमा अक्सिजनको अभाव भइरहँदा नेपालमा अवस्था कस्तो छ ?
त्यसैकारण हालको अवस्थामा सर्वसाधारणको ख्याल राख्नुपर्ने हुन्छ। मलाइ लाग्छ यस्तो एक आयोग वा आपत्कालीन समूह बनाउनुपर्छ जसले अक्सिजन प्राप्त गर्ने र अन्य कुराहरू आपूर्ति गर्ने, चिकित्सकीय उपकरण र औषधि प्राप्त गर्ने जस्ता विषयमा योजना बनाउन सकोस्।
यसका लागि अन्य देशहरू र विश्व स्वास्थ्य सङ्गठनको सहयोग लिन सकिन्छ।
अन्य राष्ट्रहरू भारतको मद्दतका लागि अगाडि सर्नुपर्छ किनभने यसअघिको सङ्कटका बेला भारतले अन्य देशहरूलाई सहयोग गर्ने कुरामा निकै उदारता देखाएको थियो।
त्यसपछि मध्यकालीन उपाय चीनको जस्तो हुनुपर्छ।
तपाईँलाई याद होला चीनले केही दिनदेखि केही हप्ताभित्र अस्थायी अस्पताल तयार गरेको थियो जसलाई देखेर पूरै दुनियाँ अचम्ममा परेको थियो। भारतमा पनि मानिसहरू अस्पताल र उपचार खोजिरहेका छन्।
दोस्रो कुरा तपाईँ सरकारका विभिन्न समूहलाई परिचालन गर्न सक्नुहुन्छ। जस्तो कि के सेनाले यसमा मद्दत गर्न सक्छ ।
यसमा अमेरिकाजस्तै तपाईँ तुरुन्त सेनाको मद्दत लिन सक्नुहुन्छ। खोप वितरणमा अमेरिकाले न्याशनल गार्ड्सको मद्दत लिएको थियो।
मलाइ लाग्छ यस विषयमा गम्भीर रूपमा विचार गरिनुपर्छ। युद्धका बेला फिल्ड अस्पताल जसरी बनाउँछन् त्यसैगरी अस्पताल बनाउन तपाईँ उनीहरूको मद्दत माग्न सक्नुहुन्छ।
यो युद्धजस्तै अवस्था हो जसमा भाइरस तपाईँको दुश्मन हो।
अन्तिममा दीर्घकालीन उपायका रूपमा मानिसहरूलाई खोप लगाउनका लागि जे सम्भव हुन्छ त्यही उपाय गर्थेँ।
भारतजस्तो देशमा अहिलेसम्म दुई प्रतिशत मानिसहरूलाई मात्रै पूर्ण रूपमा खोप लगाइएको छ। यो निकै गम्भीर स्थिति हो। तपाईँ अनि सर्वसाधारणहरूलाई खोप लगाउनुपर्छ।
तत्कालीन समस्याको समाधानका लागि तत्काल लागु हुने खाले कदमहरू उठाउनुपर्छ र त्यसपछि लामो ससमयमा काम लाग्ने खाले उपाय अपनाउनुपर्छ।
के दुनियाँभरि यसको सुरुवाती सङ्केत थिए ?
यसको सुरुवाती सङ्केत हुन जरुरी छैन। यो भाइरसले के गर्न सक्ने क्षमता राख्छ भन्ने कुराको हेक्का राख्नुपर्छ।
यसको आफ्नै हालमा छोडिदिने हो भने समाजमा विस्फोटक स्थिति ल्याउन सक्ने यो भाइरसले देखाएको छ।
यो अमेरिकामा भइसकेको छ। म एक अमेरिकीको हिसाबले भनिरहेको छु।
अमेरिका केही समयका लागि कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा बढी प्रभावित भएको देश बनेको थियो र अमेरिका विश्वको सबैभन्दा धनी राष्ट्र पनि हो।
हाम्रो तयारी सबैभन्दा राम्रो हुनुपर्ने थियो तर हामी सबैभन्दा नराम्रोसँग प्रभावित भयौँ।
यसको अर्थ के हो भने भाइरसले तपाईँ कति धनी, विकसित वा उन्नत हुनुहुन्छ भनेर हेर्दैन।
यदि तपाईँले यसको क्षति पुर्याउन सक्ने क्षमतालाई चिन्न सक्नुभएन भने यसले तपाईँलाई व्यापक अप्ठेरोमा पारिदिन सक्छ।
मलाइ लाग्छ यो कुरा हेरिनुपर्थ्यो कि समयभन्दा निकै पहिले नै जित घोषित गरिएको थियो।
खोप कार्यक्रमलाई कसरी विस्तार गर्न सकिन्छ ?
तपाईँले आपूर्ति बढाउनुपर्ने हुन्छ। तपाईँले कैयौँ कम्पनीहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ।
अहिले धेरै कम्पनीहरूले खोप बनाइरहेका छन्। तपाईँले उनीहरूसँग कुरा गर्नुपर्छ।
मैले सुनेको छु कि भारतमा हालसम्म जम्मा दुई प्रतिशत सर्वसाधारणलाई पूर्ण रूपमा खोप दिइएको छ। तपाईँले निकै लामो यात्रा तय गर्न बाँकी छ।
भारत विश्वको सबैभन्दा ठूलो खोप उत्पादक हो। यस्तो अवस्थामा उसले आफ्नो क्षमताहरूमा पनि काम गर्नुपर्छ।
छोटो अवधिको लकडाउनबाट कम नोक्सान
मलाई लाग्छ देशमा तुरुन्त अस्थायी लकडाउन लगाइनुपर्छ। यो समयमा अक्सिजन, चिकित्सकीय उपकरण, व्यक्तिगत सुरक्षा पोसाकको किट र उपचारको उपलब्धता सबैभन्दा महत्त्वपूर्ण विषय हुन्।
तर लकडाउन यो समय तुरुन्त गर्न सकिने सबैभन्दा जरुरी उपाय हो।
एक वर्षअघि जब चीनमा यस्तै विस्फोटक स्थिति आएको थियो उसले देशमा पूर्ण रूपमा लकडाउन लागु गरेको थियो। यदि तपाईँले तत्काल यस्तो गर्नुभयो भने छ महिनाका लागि लकडाउन गर्नुपर्दैन।
यसले तपाईँ सङ्क्रमणको चेन तोड्न सक्नुहुन्छ। कोही पनि आफ्नो देश बन्द गर्न चाहँदैन।
तपाईँले छ महिनाका लागि यस्तो गर्नुभयो भने समस्या हुन सक्छ। तर केही हप्ताका लागि यस्तो गरिन्छ भने महामारीको फैलने क्षमता माथि महत्त्वपूर्ण प्रभाव पार्न सकिन्छ।