Prakash Adhikari May 3, 2021

 

काठमाडौं, २० बैशाख । सरकारले नेपालमा आज मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिनुभएको छ।

‘भारतको उडानलाई केही समय स्थगन गर्ने भनिएको छ। ब्रजिल र दक्षिण अफ्रिकाको (उडान) लाई बन्द भनिएको छ। सीधै त छैन, तर अन्यत्रबाट आउँदा पनि नल्याउने’,उहाँले भन्नुभयो।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्नका लागि अस्पतालको क्षमता बढाउने सन्दर्भमा केही अस्पताललाई सूचीकृत गरेर कार्ययोजना तयार पारिएको र अक्सिजन सिलिन्डर खरिद गर्ने विषयमा चीनबाट ल्याउने भनिएका २० हजार सिलिन्डर द्रुत गतिबाट ल्याउने निर्णय गरिएको मन्त्री अर्यालले जानकारी दिनुभएको छ।

विमानस्थल

विमानस्थल

कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि राजधानीसहित नेपालका विभिन्न जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ।

आइतबार नेपालमा अघिल्लो दिनको तुलनामा थप ७ हजार २ सय ११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपालमा गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि अहिले पुष्टि भएको सङ्क्रमितको सङ्ख्या सर्वाधिक हो।(बीबीसीबाट)

Share Now

Leave a comment.