Prakash Adhikari May 3, 2021

फणीन्द्र दाहाल /बीबीसी न्यूज नेपाली

काठमाडौं, २० बैशाख । कोरोनाभाइरस महामारीका कारण विषम परिस्थिति उत्पन्न हुने आकलन गरिएका बेला चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

ती सिलिन्डरहरू हवाई र स्थलमार्गबाट झिकाउने प्रयास अघि बढाइएको नेपाली अधिकारीहरूले बताएका छन्।

नेपालभित्रै अक्सिजन उत्पादन भइरहेको भए पनि गम्भीर समस्या भएका कोभिड १९ का बिरामी बढ्दै जाँदा अहिले उपलब्ध सिलिन्डर तथा स्वास्थ्योपचारका अन्य सामग्री अपर्याप्त हुन सक्ने चिन्ता जनस्वास्थ्यविद्हरूले गर्दै आएका छन्।

यसै साता दक्षिण एशियाका पाँच देशका विदेशमन्त्रीसँग कोभिड १९ को जोखिम नियन्त्रणका क्षेत्रमा सहकार्यसहितका विषयमा छलफल गरेको बेइजिङले नेपाललाई सिलिन्डरहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

उक्त परिमाणमा सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अर्थ मन्त्रालयले पाएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको छ ।

अक्सिजन सिलिन्डरको आवश्यकता

कोरोनाभाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासमा समस्या उत्पन्न बिरामीको सङ्ख्या बढ्न थालेपछि केही सातायता धेरै बिरामीहरू अस्पताल भर्ना भएको तथ्याङ्क छ।

सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपचार आवश्यक पर्ने बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ।

साथै सहरी क्षेत्रमा घरमै बसेका सङ्क्रमितहरूले पनि अक्सिजनको जोहो गर्न थालेको बताइन्छ।

अस्पतालमा अक्सिजन सिलिन्डर

अस्पतालमा अक्सिजन सिलिन्डर

कतिपयले अक्सिजन सिलिन्डर भण्डारण समेत गर्न थालेको विवरणमाझ चीनले नेपाललाई २० हजार थान सिलिन्डर उपलब्ध गराउन लागेको हो।

स्वास्थ्यमन्त्री त्रिपाठी भन्नुहुन्छ, “अक्सिजनका सिलिन्डरको स्पेसिफिकेशन हामीले हिजो (आइतवार) पठाइदिएका छौँ। बीस हजार थान सिलिन्डर उपलब्ध गराउने उसको (चीनको) प्रतिबद्धता हो। तत्कालका लागि केही हवाईमार्गबाट ल्याउने भन्ने कुरा भएको छ। बाँकी चाहिँ स्थलमार्गबाट भित्र्याउँछौँ।”

कोभिड सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी० को निर्देशन समितिको शुक्रवार बसेको बैठकमा ती सिलिन्डर आपूर्तिको विषयमा छलफल भएको बताइन्छ।

सीसीएमसीका सचिव खगराज बरालका अनुसार चीनले सहयोगस्वरूप उपलब्ध गराउने भनिएकोमध्ये २ हजार वटा सिलिन्डर हवाईमार्गबाट भित्र्याउने दिशामा छलफल भएको छ।

अक्सिजन मापन

अक्सिजन मापन

उहाँले विमानबाट सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने अवस्था रहेकाले बाँकी सिलिन्डर स्थलमार्गबाट ल्याउने तयारी भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीलाई ग्यास चाहिएको होइन, सिलिन्डर चाहिएको हो। ग्यास यहाँ नै उत्पादन भए पनि सिलिन्डर पुनः भर्न पाइएन भन्ने कुरा आएको छ। ग्यासमा समस्या छैन।”

सीसीएमसीमा छलफल

वैशाख १७ गतेको सीसीएमसी निर्देशन समितिको बैठकमा अक्सिजनको पर्याप्त आपूर्तिका लागि सबै अस्पतालमा भएका अक्सिजन प्लान्टहरूको निरीक्षण गरी एक हप्ताभित्र पूर्ण क्षमतामा सञ्चालन गर्न सहजीकरण गर्नेगरी तत्काल काम थाल्ने निर्णय भएको थियो।

स्वास्थ्योपचारको प्रयोजनबाहेक अरू कामका लागि अक्सिजनको आपूर्ति नगर्ने, नगराउने र अक्सिजन कन्सन्ट्रेटरको कालोबजारी र कृत्रिम अभाव हुन नदिन कडा कदम चाल्ने निर्णय भएको थियो।

यसअघि भारतमा कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि मेडिकल अक्सिजनको ठूलो अभाव हुन थालेको खबरमाझ नेपालमा अक्सिजनको अभाव हुने अवस्था नरहेको सरकार तथा व्यवसायीहरूले बताएका थिए।

अक्सिजन सिलिन्डर

अक्सिजन सिलिन्डर

उत्पादकहरूले अक्सिजन आपूर्ति गर्न सकिने तर सिलिन्डरको अभाव भएको बताउने गरेका छन्

धेरैजसो ठूला अस्पतालमा अक्सिजन प्लान्ट रहेको र उद्योगहरूले पनि अक्सिजन उत्पादन गर्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनीहरूले बताएका थिए।

डेढ साताअघि अक्सिजनको आपूर्तिको अवस्थाबारे स्वास्थ्य मन्त्रालयले व्यवसायीहरूसँग छलफल गरेको थियो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार उनीहरूले दैनिक ७ हजार वटा सिलिन्डरमा अक्सिजन भर्ने क्षमता आफूहरूसँग रहेको बताएका थिए।

यसैबीच मन्त्रालयले सर्वसाधारणहरूलाई अनावश्यक रूपमा अक्सिजन सिलिन्डर जगेडाका रूपमा आफूसँग नराख्न आइतवार आग्रह गरेको छ।

 

Share Now

Leave a comment.