Prakash Adhikari May 3, 2021

 

काठमाडौं, २० बैशाख । नेपालमा गत २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये काठमाडौं उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

मन्त्रालयका अनुसार सो अवधिमा थप ३७ जनाको कोभिडसम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।

सोमवार पुष्टि भएका सङ्क्रमितहरू १६ हजार ६ सय ५८ पीसीआर र ५ सय १८ एन्टिजन परीक्षण गर्दा पहिचान भएका हुन्।

यो सङ्क्रमण र मृत्यु दुवै नेपालमा हालसम्मको सर्वाधिक सङ्ख्या हो।

सोही अवधिमा थप २ हजार २१ जना सङ्क्रमणमुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५४ हजार ४१ रहेको मन्त्रालयको तथ्याङ्क छ।

मन्त्रालयले आइतवार अपराह्ण २४ घण्टाको अवधिमा ७ हजार २ सय ११ सङ्क्रमित थपिएको जनाएको थियो।

काठमाडौंमा सर्वाधिक कोभिड १९ का विरामी

कोभिड

सोमवार सबैभन्दा बढी सङ्क्रमित काठमाडौं जिल्लामा २ हजार ९ सय २२ जना थपिएका हुन्।

त्यसैगरी उपत्यका अरू दुई जिल्ला ललितपुरमा ५ सय २२ जना र भक्तपुरमा २ सय २२ जनामा पनि कोभिड १९ पुष्टि भयो।

विगत २४ घण्टामा उपत्यकामा कुल ३ हजार ७ सय ६६ जना सङ्क्रमित थपिएका छन्।

त्यस्तै रूपन्देहीमा ६ सय १९, बाँकेमा ४ सय ४०, मोरङमा ३ सय ६२ र कास्कीमा ३ सय ५५ जना सङ्क्रमित सोमवार थपिएका छन्।

अहिले हाल १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने थप २१ जिल्लामा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

थपिएका सङ्क्रमितमध्ये ६० जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्।

सोमवार पुष्टि भएका सङ्क्रमितमध्ये १ सय ५६ जना नौ वर्षसम्मका, ४ सय ३९ जना १० देखि १९ वर्षका र ३ हजार ५ सय ५९ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कुल सङ्क्रमितमध्ये ० जना संस्थागत आइसोलेशनमा र तीमध्ये ५ सय ७८ जना आईसीयू एवम् १ सय ४२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

अस्पताल

अस्पताल : अझ कडाइ गर्ने प्रमको सङ्केत

सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएको बताउनुभयो।

सङ्क्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने भन्दै उहाँले भन्नुभयो, ‘एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ।’

ूयसलाई थप कडाइ गरिँदैछ र प्रभावकारी ढङगले लागु गर्न पहिलेझैँ सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ।ू

प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताउनुभयो।

‘वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ’, उहाँले भन्नुभयो।

उहाँका अनुसार प्रदेश सरकारले पनि आफ्ना प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई गैरकोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन्।(बीबीसीबाट)

 

Share Now

Leave a comment.