विकास पाण्डे । बीबीसी न्यूज
नयाँदिल्ली(भारत), २० बैशाख । दिल्लीका अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेको दुई हप्ता हुन लागिसक्यो। तर सङ्कट समाधान हुने कुनै सङ्केत देखिएको छैन।
एक चिकित्सकसहित कम्तीमा १२ बिरामी दिल्लीको एउटा प्रमुख अस्पतालमा अक्सिजन अभाव भएका कारणले ज्यान गुमाएका छन्।
अस्पतालबाहिर अस्पतालमा शय्या पाउन नसकेकाहरू बोक्न सकिने किसिमको अक्सिजन सिलिन्डर हात पार्न सङ्घर्ष गरिरहेका छन्। कोही त लाइनमा बसेको १२ घण्टा भइसकेको बताउँछन्।
दिल्लीका कैयौँ अस्पतालमा दैनिक अक्सिजन आउने गरेको छ तर उनीहरूले आपत्कालका लागि आवश्यकताभन्दा बढी ल्याएर भण्डारण गर्न सकेका छैनन्।
एक डाक्टरले स्थिति भयावह भएको बताउदै भन्नुभयो, ‘अस्पतालको मुख्य ट्याङ्की सकिएपछि भण्डारमा केही बाँकी छैन ।’
साना अस्पतालमा स्थिति झन् गम्भीर छ। उनीहरूसँग भण्डारण ट्याङ्की छैन र उनीहरू ठूलाठूला सिलिन्डरमा भर पर्छन्।
कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढिरहेका बेला अक्सिजन सङ्कट आइपरेको छ।
दिल्लीमा दिनहुँ हजारौँ सङ्क्रमित थपिन्छन् र सयौँ जनाको मृत्यु हुन्छ।
भारतमा सप्ताहान्तमा महामारी सुर भएयताकै सबभन्दा धेरै दैनिक सङ्क्रमण पुष्टि भएको छ। एक दिनमा चार लाखभन्दा बढी सङ्क्रमण भएको एक मात्र मुलुक बनेको छ।
‘यो दैनिक सङ्घर्ष हो’
श्रीराम सिंह अस्पताल सञ्चालक डाक्टर गौतम सिंहले उहाँको अस्पतालमा ५० कोभिड शय्या र १६ आईसीयू शय्या रहेको बताउनुभयो। तर उहाँले अक्सिजन आउने निश्चित नभएकाले बिरामी भर्ना गर्न अस्वीकार गर्नुपरिरहेको बताउनुभयो।
उहाँले सहयोगको याचना गर्दै अक्सिजन उपलब्ध गराइदिन सार्वजनिक रूपमा सहयोगको याचना गरिरहनुभएको छ।
डा. सिंह भन्नुहुन्छ, ‘हामीले हरेक दिन सङ्घर्ष गरिरहेका छौँ। मेरा आधाजसो कर्मचारीहरू एक ठाउँबाट अर्को गर्दै अक्सिजन सिलिन्डर भर्न चहारिरहेका छन्।’
उहाँले गरेको त्यस्तै अपील मैले पनि ट्वीट गरेको थिएँ।
[Thread] Please help this hospital and make their ventilators function. Heartbreaking scenes. Reach out to @rimzim__ on Instagram for more details. Bank details are also below. You can save lives. pic.twitter.com/i7oi7NEHIy
— Vikas Pandey (@BBCVikas) April 28, 2021
अक्सिजन नपाएकै कारण बिरामीको ज्यान जाने अवस्था सम्झेर आफूलाई निद्रा नआउने गरेको उहाँले बताउनुभयो।”म अक्सिजन खोज्न भौँतारिने होइन कि बिरामीको उपचारमा केन्द्रित हुन पाउनुपर्ने हो”, डा.सिंहले भन्नुभयो।
अरू अस्पतालमा पनि त्यस्तै समस्या परिरहेको बताइएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सङ्घीय सरकारबाट आवश्यक परेको मात्रामा अक्सिजन प्राप्त गर्न नसकेको बारम्बार बताउँदै आउनुभएको छ। भारतमा सङ्घीय सरकारले प्रदेश सरकारलाई अक्सिजनको कोटा उपलब्ध गराउने गर्छ।
सङ्घीय अधिकारीहरूले अक्सिजन अभाव नभएको तर यातायातको समस्या भएको बताइरहेका छन्।

मानिसहरू अक्सिजन सिलिन्डरमा अक्सिजन भर्न १२ घण्टासम्म लाइन बस्नुपरेको बताइएको छ
दिल्लीको उच्च अदालतले शनिवार भन्यो, “यो अति भयो।”
“सरकारले अब सबै कुरा उपलब्ध गराउनुपर्छ। किनभने कोटा बनाएको सरकारले हो, उसैले त्यो परिपूर्ति गर्नुपर्छ।”
“मानिसहरू मूल्य चुकाइरहेका छन्”
स्थिति गम्भीर छ।
“सङ्घ र प्रान्त सरकारबीचको खिचातानीको मूल्य सर्वसाधारणले चुकाउनुपरिरहेको छ”, एक विश्लेषकले भन्नुभयो।
अस्पतालमा शय्या पाएका बिरामीका परिवार पनि अक्सिजनको अभावका कारण गम्भीर तनावमा परेका छन्।

अस्पतालमा शय्या पाउन नसकेका र अक्सिजन सिलिन्डर किन्न सक्ने हैसियत नभएका मानिसहरूलाई केही परोपकारी संस्थाले सहयोग गर्ने गरेका छन्
विगत ४८ घण्टा अल्ताफ शमसीका लागि असह्य रह्यो।
शमसी र उहाँका परिवारलाई गत हप्ता कोरोनाभाइरस पोजिटिभ देखियो।
गर्भवती श्रीमती गम्भीर बिरामी परेपछि उहाँलाई अस्पताल लगियो। गत शुक्रवार उहाँले छोरी जन्माउनुभयो। जटिल प्रक्रियापछि बच्चा जन्मिएको थियो तर आमालाई भेन्टिलेटरमा राख्नुपर्यो, अहिले पनि उहाँको अवस्था गम्भीर छ।
त्यसपछि अल्ताफले आफ्ना बुवा अर्को अस्पतालमा बितेको खबर पाउनुभयो।
उहाँकी श्रीमती र छोरी भएको अस्पतालमा अक्सिजन अभाव भयो।
कतैबाट अस्पतालले एक दिनका लागि अक्सिजन व्यवस्था गर्यो। तर अल्ताफलाई त्यो समस्या फेरि आउला भनेर तनाव भइरहेको छ।
“भोलि के होला कसलाई के थाहा,” उनले भने।
अक्सिजन अभावको तनावका बीच अस्पतालले कर्मचारी अभाव रहेको भन्दै उहाँकी श्रीमतीलाई अन्यत्र सार्न भनिरहेको छ।
त्यसको अर्थ हो उहाँकी श्रीमतीको अक्सिजनको तह र ज्वरो नाप्ने काम उहाँले नै गरिरहनुपरेको छ।
“म कति पीडामा छु भन्ने तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न”, उहाँले भन्नुभयो।
“मेरा बुवालाई अक्सिजन अभाव भयो”
दिल्लीमा अस्पतालको शय्या पाउन नसकेका कैयौँले घरमै अक्सिजन सिलिन्डर लगाएर बस्नुको विकल्प छैन।

कोरोनाभाइर सङ्क्रमित महिला ः गुरुद्वारामा अक्सिजन लिन आइपुगेकी एक कोरोनाभाइरस सङ्क्रमित महिला
अभिषेक शर्माका बाबुको अक्सिजन तह शनिवार घट्न थाल्यो। उहाँ अक्सिजन सिलिन्डर किन्न दौडिँदै बजाए जानुभयो। एक दर्जनभन्दा बढी स्थानमा पुगेपछि उहाँले सानो एउटा सिलिन्डर पाउनुभयो जुन छ घण्टाका लागि मात्र पर्याप्त हुन्थ्यो।
पछि उनी बाहिर गएर करिब ९ सय ४४ डलर तिरेर एउटा ठूलो सिलिन्डर पाउनुभयो तर त्यो रित्तो थियो। त्यसलाई उनले अक्सिजन भर्ने विभिन्न केन्द्रमा लगे। एक ठाउँमा उहाँले भर्न पाउने कुरा भयो तर त्यहाँ निकै लामो लाइन थियो।
“प्रत्येक मिनेट मेरा बुवाको अक्सिजन घट्दै गइरहेको थियो। मैले अरूको पालो मिच्न पनि सकिनँ किनभने सबैको हालत उस्तै थियो।”
उहाँले छ घण्टापछि पालो पाएर अक्सिजन सिलिन्डर भर्नुभयो। “तर भोलि पनि मैले यही गर्नुपर्छ”, उहाँले भन्नुभयो।
“सिलिन्डर भर्न सकिनँ भने के हुने होला भन्ने सोचेर म दिक्क हुन्छु”, उहाँले भन्नुभयो।
सार्वजनिक नीति र स्वास्थ्यप्रणालीका विज्ञ डा. चन्द्रकान्त लहरिया भन्नुहुन्छ, “सरकारलाई बेलैमा सम्भावित सङ्कटबारे चेतावनी दिइएको थियो तर सरकारले कामै गरेन।”
भारतको संसदीय समितिले पनि नोभेम्बर महिनामै अक्सिजन र शय्या अभावबारे सचेत गराएको थियो।

दिल्लीमा मसानघाटहरू दिनरात व्यस्त रहन्छन्
डा. लहरिया भारतमा मेडिकल अक्सिजन सङ्कट योजनाको अभाव र वितरण तथा यातायात प्रणाली निश्चित नगरिएकाले आइलागेको ठान्नुहुन्छ।
सङ्कट सुरु भएको दुई हप्तापछि पनि सास फेर्न आवश्यक अक्सिजन नपाउँदा मानिसहरू स्तब्ध छन्। अनि समस्या कहिले समाप्त होला त्यो देखिएको छैन।
ुहामीले सहयोग केन्द्र (वार रूम) खोलेका छौँु
सङ्कटका समयमा चिन्तित नागरिकहरू सहयोगका लागि तत्पर देखिन्छन्।
तीमध्ये सामाजिक अभियन्ता तथा राजनीतिकर्मी तेहसिन पुनावाला, राजनीतिकर्मी दिलीप पाण्डे, अभियानकर्मी तथा राजनीतिकर्मी श्रीनिवास बीभी र नायक सोनु सूद पनि हुनुहुन्छ।
पुनावालाले अक्सिजन अभाव भोगिरहेका साना अस्पताललाई सहयोग गरिरहनुभएको छ।
उहाँ भन्नुहुन्छ, “समस्यामा परेका र सहयोग गर्न सक्ने स्थितिमा रहेका बीच सम्पर्कको माध्यम बनिरहेको छु।”
“हामीले एउटा केन्द्र खोलेका छौँ। मैले चिनेका मानिसलाई मैले फोन गरिरहेको छु”, उहाँ भन्नुहुन्छ।
।
उहाँ भन्नुहुन्छ, “स्थिति हरेक दिन गम्भीर बन्दै गइरहेको छ।”
“सरकारले अग्रसर हुन आवश्यक छ किनभने हामीजस्ता व्यक्तिसँग असीमित सहयोग गर्ने स्रोत हुँदैन।”
दिल्लीमा अस्पताल चलाइरहेकी एक महिला भन्नुहुन्छ, “अक्सिजन नपाएर ज्यान गुमाएका मानिस सम्झेर मेरो निद्रा बिथोलिएको छ।”
“कैयौँका परिवार छन् र केहीका साना बालबच्चा छन्। उनीहरू पछि हुर्किएर ‘हामीलाई के भएको थियो’ भन्ने प्रश्न सोध्दा हामी के जबाफ दिन
सकौँला?”


















