काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई विश्वासको मत पुर्याउन नदिएर सत्ताच्यूत गराउने रणनीति अख्तियार गर्ने भएको छ ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा आवश्यक संख्या पुग्न नदिने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले ‘विश्वासको मतमा अल्पमत पारेर ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको बताउदै भन्नुभयो ‘पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो। त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुन्छ।’
प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने गरे राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधिको विशेष अधिवेशन आह्वान गर्न लगाउनु भएको छ । र राष्ट्रपति भण्डारीबाट सोही दिन बैठक बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान भइसकेको छ।
कांग्रेसले ओली सरकार हटाउन अरू दलसँग पनि पहल गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसको आजको बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको नेकपा एमालेको वर्तमान सरकारले केन्द्रदेखि गण्डकी र लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा सर्वसत्तावादको असंवैधानिक अभ्यास गरेको भन्दै ती असंसदीय र अमर्यादित कार्यको भर्त्सना पनि गरेको छ।
नेपाली कांग्रेसले नियमित बजेट अधिवेशन बोलाएर देशलाई आक्रान्त पार्दै लगेको कोरोना संकटका बारेमा छलफल गर्नुपर्ने ठाउँमा विश्वास मतका प्रयोजनका लागि संसद बोलाउने काम भएकोमा पनि अन्तोष प्रकट गरेको छ ।
सरकारले संवैधानिक आयोगलगायत काम अध्यादेशबाट ल्याएकोमा पनि काँग्रेसले विरोध गरेको छ। संसद छलेर अध्यादेशका भरमा राज्य चलाउन खोजिएको भन्दै कांग्रेसले विरोध गरेको हो।
आज बसेको पदाधिकारी बैठकले आजै राष्ट्रपतिद्वारा जारी भएका ७ अध्यादेशको बारेमा छलफल गरी संसद छलेर ल्याइएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको हो।
विगतमा प्रधानमन्त्री ओलीको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन संख्या पुग्दैन भनेर तर्किदै आउनुभएका नेपाली कांग्रेसका सभापति देउवाको पनि गण्डकीमा अविश्वासको प्रस्ताव आउनेभएपछि अधिवेशन अन्त्य गराउने, मतदानको लागि तयार भएका सांसदलाई अपहरण गरी लुकाउने तथा लुम्बिनीमा अविश्वासको प्रस्ताव दर्ता भएपछि दबाब र प्रभावमा पारेर अविश्वासका हस्ताक्षरकारीलाई मन्त्री बनाउने, अविश्वासको प्रस्ताव निस्तेज बनाउन राजिनामा दिने र विपक्षीको पक्षमा बहुमत रहदा रहदै अल्पमतमा रहेको संसदीय दलका नेताले बहुमतमा रहेको भन्दै नियुक्ति लिएर प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको कक्षमा बोलाएर शपथ ग्रहण गर्ने कार्य देखेपछि चेत खुलेको बताइन्छ ।
कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री ओलीले साम दाम दण्ड भेदको जुन नीति अंगीकार गरेर पार्टीभित्रका विपक्षीलाई समाप्त पार्नुभएको छ भोलि त्यही अस्त्र आफना विरुद्ध पनि प्रयोग हुन्छ कि भन्ने भयले चिन्तित हुन थाल्नुभएको बताइन्छ ।