Prakash Adhikari May 5, 2021

 

प्रकाश अधिकारी

काठमाडौं, २२ बैशाख । कमिशन र भ्रष्टाचारका अर्बो अर्ब काण्डमा जोडिदै आउनुभएका प्रधानमन्त्री के.पी.ओली आफ्नो नेतृत्वमा रहेको सरकारमाथि प्रतिनिधि सभामा विश्वासको मत लिने तरखरमा लागेको बेला कमिशनको चक्करमा कोरोनाको खोप खरिद रोेकेर आम नेपाली नागरिकलाई कोरोना भाइरसको खोपबाट बिमुख पार्दै मृत्युको मुखमा पुर्याउने जनघाती कार्यमा संलग्न हुनुभएको गम्भीर आरोप लागेको छ ।

मुलुक कोरोनाको दोस्रो लहरको चपेटामा परेर देशका मुख्य शहरी भाग र तराईसंग सीमाना जोडिएका जिल्लाहरुमा स्वास्थ्य संकट सिर्जना भएको बेलामा सार्वजनिक भएको प्रधानमन्त्री र कमिशनखोरको साँठगाँठले नेपालको राजनीतिलाइ पनि नयाँ मोडमा ल्याएको छ ।

कोरोना खोप उत्पादक मुलुकहरु भारत, चीन, रुसले अनुदान सहयोगमा र विश्व स्वास्थ्य संगठन र बेलायतले पनि सहयोग स्वरुप खोप उपलब्ध गराउने बचन दिंदा दिंदै नेपाल जस्तो जम्मा ३ करोड ३ लाख जनसंख्या रहेको मुलुकमा कोरोना जोखिममा रहेको उमेर समूहका नागरिकलाई खोप मिलाउन नसक्नुका पछाडि कर्मचारीतन्त्रको राष्ट्रिय क्षमता हैन प्रधानमन्त्री ओलीको नेतृत्वमा कमिशनखोर नेता र व्यापारीको अपवित्र संबन्ध जिम्मेवार रहेको पुष्टि हुन गएको छ ।

प्रधानमन्त्री कमिशनखोरको मोहोरा

इकागज नामक अनलाइन समाचार पत्रले मंगलबार भारतको सिरम इन्स्टिच्यूटले नेपाललाई बिक्री गर्न भनेर प्रतिबद्धता जनाएको कोभिशिल्ड नामक खोपको २० लाख डोज र त्यसपछि किन्ने भनिएको ५० लाख डोज कसरी रोकिन गयो भन्ने समाचार सार्वजनिक गरेको छ ।

यस्तो छ सेरुमसँग खोप खरिदमा ‘बिचौलिया कनेक्सन’को अन्तर्कथा

कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नक्सा प्रकाशन गरेपछि चिसिएको नेपाल भारत सम्बन्ध सुधार्न नेपाल आउनुभएका राजदूत विनयमोहन क्वात्राले नेपालसंगको सम्बन्धलाई मानवीय सहायता मैत्रीको कोणबाट विस्तार विकास गर्ने रणनीति अख्तियार गर्नुभएको थियो । कोरोना भाइरसको पहिलो लहर चल्दा यसको विरुद्ध खोपहरुको अनुसन्धान र विकास चरणमा रहेकोले त्यसका रोकथामकालागि स्वास्थ्य कर्मीहरुलाई पीपीई र अस्पतालहरुलाई उपकरण, नेपाली सेनालाई औषधी(रिम्डिसिभर) र उपकरणको सहयोग गरेको भारतले अक्सफोर्ड अक्सट्राजेनिका खोप त्यहाँको सिरम इन्स्टिच्यूटबाट उत्पादन हुन थालेपछि कोभिशिल्ड खोप नै उपलब्ध गराउने नीति लियो ।

भारतले नेपाललाई खोप मैत्री सहयोग अन्तरगत १० लाख मात्रा खोप उपलब्ध गरायो । सो खोप माघ ८ मा आयो । खोप प्राप्त भएकोले अग्रदस्तामा रहेर काम गर्ने र अधिक जोखिमयुक्त समूहलाई सरकारले माघ १४ देखि खोप दिन सुरु गर्यो । सरकारले भारतसंगै थप २० लाख डोज किन्ने सहमति गर्यो । खरिद गरेको खोप अन्तरगतको पहिलो खेप १० लाख मात्रा फागुन ५ गते नेपाल आईपुग्यो ।

Serum Institute seeks financial help from govt after India restricts exports

यसरी सरकारले भारतबाटै आफूलाई चाहिने खोप ल्याउने ढंगले “जी टू जी” प्रक्रिया मिलाएर थप ५० लाख डोज खोप खरिदको जाँचोपाँचो मिलाएको बेलामा आफूलाई सिरम इन्स्टिच्यूटबाट उत्पादन हुने औषधीहरुको आधिकारिक विक्रेता दावी गर्ने हुकुम इन्टरप्राइजेटका विजय दुगड र ऋतु सिंह वैद्य स्वास्थ्य मन्त्रालयमा पुगी सिरमले उत्पादन गर्ने औषधीको आधिकारिक एजेण्ट आफूहरु भएकोले सरकारले प्रत्यक्ष खरिद गर्ने भए त्यसमा आफ्नो कमिशन रहनुपर्ने नभए आफूहरुमार्फत खरिद गर्नुपर्ने शर्त राख्नुभयो ।

उहाँहरुसंग कुनै सम्पर्क नै नराखिकन सरकारले पहिल्यै खरिद संझौता गरिसकेको २० डोज खोपको सम्बन्धमा पनि  त्यसको खरिदमा स्थानिय एजेण्टले पाउने कमिशन छुट भएको उल्लेख गराएर त्यसपछि हुने खरिदमा कमिशन खाने आधार तयार पार्नुभयो।

उहाँहरुको हस्तक्षेप पछि नेपालले पैसा तिरेर खरिद संझौता गरी आधा १० लाख मात्रा उपलब्ध गराईसकेको सिरमले बाँकी १० लाख मात्रा स्थानीय एजेण्टमार्फत उपलब्ध गराउने बन्दोबस्त मिलाउनू भन्ने ढंगले पत्राचार गरेपछि स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री के.पी.ओलीलाई जानकारी पनि गराउनुभयो । स्वास्थ्य मन्त्रीले ‘हजुरहरूकै मान्छे हुन्, यस्तो चलखेल गरिरहेका छन् । के गर्ने हो’ भन्ने जिज्ञाससा राख्दा प्रधानमन्त्रीले ‘ए हो र ! तिनै पो रहेछन् ।’ भनेर टार्नुभयो ।

प्रधानमन्त्रीले ध्यान नदिएपछि स्वास्थ्यमन्त्रीको एकलो प्रसायले कमिशन खोरहरुलाई चुप लगाउनसक्ने अवस्था थिएन । जी टूजी आधारमा सिरमबाटै ५० लाख डोज खरिद गर्ने सरकारको प्रक्रिया अन्योल ग्रस्त हुन गयो ।

स्वास्थ्य मन्त्रालयले अगाडि बढाएको प्रस्ताव अनुसार खोप खरिद गर्ने कार्यमा प्रधानमन्त्री ओलीले साथ दिएको भए नेपालमा अहिलेसम्म भारतले अनुदानमा दिएको १० लाख मात्रा, भारतसंग प्रतिमात्रा ४ डलरमा खरिद गरिएको २० लाख मात्रा, चीनले अनुदानमा दिने ८ लाख मात्रा, बेलायतले अनुदानमा दिन कबुल गरेको २० लाख मात्र,विश्वस्वाथ्य संगठनले कोभ्याक्स अन्तरगत दिने सहयोग र जी टू जी खरिदको ५० लाख मात्रा खोप हुने थियो । यही विश्वासमा नेपालले खोप अभियानको घोषणा गरेर ३ महिनाभित्र खोपको आवश्यक पर्ने सबैसमूहलाई खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयको तयारी थियो ।

नेपालले भारतबाट ७० लाख डोज खोप किन्ने योजना गरेको समयमा भारतमा कोरोनाको दोस्रो लहर आएको थिएन । स्वास्थ्यमन्त्री त्रिपाठीले भन्नुभएको छ सेरुमले बाँकी १० लाख खोप दिन आनाकानी गर्न थालेको फागुन दोस्रो सातादेखि हो । त्यतिबेला पनि हामीसँग २७ दिनको निर्णायक समय थियो । २० लाख डोजमात्र होइन, कमिसन एजेण्टले भाँजो नहालेको भए अर्को ५० लाख डोज खोप भारतमा कोभिड १९ को दोस्रो लहर आउनुअघि नै नेपाल भित्रिसकेको हुन्थ्यो र हामीले ठूलो मानवीय क्षति रोक्न सक्थ्यौं ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्व र गौतमले पनि सिरमबाट आपूर्ति हुन बाँकी १० लाख डोज समेत गणना गरेर नेपालले खोप अभियान सञ्चालन गरेको बताउदै सम्झौता भैसकेको १० लाख डोज खोप तुरुन्त आपूर्ति हुनुपर्ने बताउनुभएको छ ।

उहाँले अहिलेसम्म पहिलो डोज अष्ट्राजेनिका (कोभिशिल्ड)खोप लगाइसकेकालाई अर्को खोप दिन मिल्ने या नमिल्ने भन्ने एकिन नभएको मिश्रित खोपको प्रामाणिक अध्ययन भैनसकेको र अन्यत्रबाट अरु प्रकारका खोप ल्याएर वितरण गर्न सक्ने अवस्था पनि नरहेकाले अवस्था गम्भीर भएको बताउनुभयो ।

को हुन विजय दुगड र ऋतुसिह वैद्य

विजय दुगड नेपालको प्रतिष्ठित व्यापारिक घराना दुगड परिवारका तेस्रो पुस्ताका उद्योगपति तथा व्यापारी हुनुहुन्छ । उहाँ हुकुमचन्द दुगड ग्रुपको उपाध्यक्ष पनि हुनुहुन्छ । यो ग्रुपको म्यानेजिड. डाइरेक्टरमा रमेशकुमार दुगड र सञ्जय दुगड हुनुहुन्छ । त्यसो त कपडा व्यापारबाट व्यवसायिक जीवनमा प्रवेश गर्नुभएका चन्दमल दुगडको व्यापारलाई दोस्रो पुस्ताका लुनकरण दुगडले जुट, स्टिल र चामलसम्म विस्तार गर्नुभएको र तेस्रो पुस्तामा आएपछि यो समूह मोतिलाल, किसनलाल,मालचन्द र हुकुमचन्द्र ग्रुपमा विभक्त भएको कारोबारको क्षेत्रमा पनि विविधता अपनाएको देखिन्छ । अहिले दुगड ग्रुप प्रवेश नगरेको कुनै क्षेत्र छैन । चामल,मैदा,तेल, हर्बल प्रडक्ट, सिमेण्ट,बैंक,बीमा, अटोमोवाइल,कोल्ड स्टोर,जलविद्युतm घरजग्गा, ट्राभल टुरिज्म सबै क्षेत्रमा यो समूहको व्यवसाय फैलिएको छ ।

मोतिलाल दुगड अहिले प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार हुनुहुन्छ । नेकपा एमालेको अहिलेको पार्टी अफिस पनि उहाँले नै खोजिदिनुभएको बताएको छ । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको भूमिका पाउनु अगाडि उहाँ राज्यमन्त्रीको रुपमा मन्त्रिपरिषद्मा भित्रिनुभएको थियो । यसले प्रधानमन्त्री ओली र दुगडपरिवारको सम्बन्धको कडी अरु कुनै मन्त्रीले आँखा लगाउन नसक्ने स्तरको भएको स्पष्ट पार्दछ ।

 

यता ऋतुसिंह बैद्य नेपालको प्रसिद्ध व्यापारिक घराना बैद्यज् अर्गनाइजेशनका प्रमुख सुरज वैद्यकी दोस्रो धर्मपत्नि हुनुहुन्छ । उहाँकी पहिली पत्निको हवाइजहाज दुर्घटनामा मृत्यु भएको थियो । भारत सुन्दरी “मिस इण्डिया” ऋतुको माइती भारत भएकोले पनि उहाँले सिरमको एजेन्सी लिन र त्यहाँ काम गर्न गराउन विशेष भूमिका निर्वाह गर्नुभएको बताइन्छ ।

वैद्य समूहसंग प्रधानमन्त्री ओलीको कति निकट सम्बन्ध छ भने उहाँले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको संयोजक नै बनाउनुभएको थियो ।

नागरिक मारेर कमिशनमा रम्ने !

जनता विश्वमा झण्डै डेढबर्षदेखि महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको भय र त्रासले आतंकित भएर जीवनको लागि पुकारा गरिरहदा प्रधानमन्त्री ओली भने जनताको बचाउको लागि अग्रसर हुनुभन्दा जीवनरक्षक खोपमा समेत कमिशन लिने तारतम्य मिलाउन अग्रसर हुनुभएको घट्नाले विश्वासको मत लिने उहाँको कदमलाई पनि असर गर्ने देखिन्छ ।

प्रधानमन्त्री ओलीले आफूमाथि गम्भीर आरोप लगाउने स्वास्थ्यमन्त्रीमाथि कारबाही पनि नगरेको र खोप ल्याउने सम्बन्धमा सार्वजनिक भएको समाचारको पनि खण्डन नगरेको हुनाले यसलाई मौनम सम्मतिको रुपमा लिइएको छ ।

प्रधानमन्त्री ओली संविधान र देशका प्रचलित नियमकानूनको कुनहदसम्म कसरी उल्लंघन गर्नुहुन्छ भन्ने कुरा प्रतिनिधिसभाको विघटन, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, संसदीय सुनवाई वेगर सवैधानिक अंगका प्रमुख र पदाधिकारीहरुको नियुक्ति गरेको घट्नाले स्पष्ट पारिसकेको छ । हामीले मानेको संसदीय व्यवस्थाको मूल्य,मान्यता,परम्परा,नैतिकता,स्वच्छ आचरण त प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका विरुद्धमा फैसला दिएपछि राजिनामा नदिएर समाप्त पारिनै सक्नुभएको छ भने हालै गण्डकी र लुम्बिनी प्रदेशमा अवलम्बन गरिएको गैरसंसदीय, अमर्यादित व्यवहारले उहाँको नेतृत्वमा नेपालमा यो व्यस्थाको वदनाम हुनेमा कुनै शंका रहेको देखिदैन ।

त्यस्तै उहाँको छवि भ्रष्टाचार,आर्थिक अनियमितता र कमिशन खोरीमा लिप्त भएका प्रमाण हालै सार्वजनिक भएको खोप काण्ड, फाष्ट ट्रयाकको छ अर्ब घोटाला, सेक्युरिटी प्रेस खरिद प्रकरण, वाइडबडी प्रकरण, रेल्वे प्रकरण , गत बर्षको ओम्नी प्रकरणले स्पष्ट पारेको छ ।

नागरिकको जीवनमाथि खेलवाड गर्ने, संविधानमाथि खेलवाड गर्ने र प्रतिनिधिसभाको हत्या गर्ने र भ्रष्टाचार र आर्थिक अनियमिततामा निर्लिप्त सरकारलाई अहिलेसम्म सरकारमा नगएका दलहरुले कसरी बैशाख २७ मा लिने विश्वासको मतमा कसरी समर्थन गर्लान ? त्यो प्रतिक्षाको विषय भएको छ ।

सरकारी खर्चमा देशव्यापी कार्यकर्ता भेला र आमसभा गराएर पार्टीभित्रका आफ्नै सहकर्मी,सहधर्मी र अभिभावकतुल्य नेता र आफ्नै पार्टीको झण्डामुनि आफ्नो उत्तराधिकार सम्हालेर देश र जनताको सेवा गर्न अग्रसर अनुगामीहरुलाई छानी छानी कारबाही गर्ने प्रधानमन्त्री ओली जनतालाई मर्न दिने तर कमिशन खान नछाड्ने नेताका रुपमा रुपान्तरित हुनुभएको छ ।

 

Share Now

Leave a comment.