काठमाडौं, २३ बैशाख । नेपाल पर्यटन बोर्डले निषेधाज्ञाका कारण मुलुकको विभिन्न भागमा रोेकिएका विदेशी पर्यटकरुलाई राजधानी ल्याउने कार्यको संयोजन र थालनी गरेको छ ।
बोर्डले बुधबार विभिन्न देशका ११ जना पर्यटकलाई राजधानी ल्याएको जनाएको छ । बोर्डले गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौँ ल्याएको हो ।
बुधबार बोर्डले लाङटाङबाट पोल्याण्डका ५, पोखराबाट युक्रेनका ४ र लुक्लाबाट २ अमेरिकी नागरिकलाई उद्धार गरेको हो ।
बोर्डले महामारीका समयमा आवश्यक सूचनाका अभावमा कुनै पर्यटक कतै अलपत्र पर्न नपरोस् तथा अन्य सरोकार निकायले समेत आवश्यक परेका समयमा सूचना गर्न सकून् भनेर हटलाइन, मेल तथा वेव पोर्टल पनि सञ्चालनमा ल्याएको छ भने देशका विभिन्न भागमा रहेका पर्यटक सम्पर्कमा रहन तथा उद्धारका लागि तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार तथा समन्वयका लागि नेपाल पर्यटन बोर्डले विपत् व्यवस्थापन तथा सञ्चार सेल समेत गठन गरेको छ ।
सेलले पर्यटकको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौतानुरुप नेपाल आउने भारतीय यात्रुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजीकरण गर्ने बोर्डले जनाएको छ ।
यसैबीच संस्कृति मन्त्रालयको यही वैशाख २१ गतेको निर्णयानुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटलसँग सम्पर्क र समन्वय गरी सहजीकरण गरेको छ ।
आरोहीहरु उपयुक्त मौसमको तयारीमा
नेपालका हिमालहरुको आरोहणका निमित्ति गन्तव्यतिर पुगेको आरोहण दलका सदस्यहरु उपयुक्त मौसमको प्रतीक्षामा रहेको पर्यटन विभागले जनाएको छ ।
यस अगाडि नै फोटो पत्रकार पूर्णिमा श्रेष्ठ लगायतको टोलीले अन्नपूर्ण हिमाल आरोहण गरिसकेको छ भने मौसमले साथ दिए अबको केही दिनभित्रै सगरमाथा र अन्य हिमालको आरोहण शुरु हुने विभागले जनाएको छ ।
अहिले अधिकांश आरोही सगरमाथाको आधार शिविरमा छन् । सर्वोच्च सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प ४ मा पुगिसकेका छन् ।
सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका छन् ।
कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका र्थि ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका हुन। यसमा ९३ महिला र ३१५ पुरुष छन् ।
सन २०१९मा को बसन्त याममा सगरमाथाका लागि ४१ आरोही समूहले अनुमति पाएका थिए । सन् २०२० मा वसन्त आरोहण भएन ।
विभागको पर्वतारोहण शाखाका विवरणमा सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७ सय ४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष गरी १ सय २५ आरोही छन् । नुप्से (७,८६४ मिटर) मा ३८ र पुमरी (७,१६१ मिटर)मा नौ आरोहीलाई अनुमति दिइएको छ ।
त्यसैगरी गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि आर आरोही समूहका ४४ र धौलागिरि हिमाल )८,१६७ मिटर) मा पाँच आरोही समूहका ३३ आरोही छन् ।
सङखुवासभामा पर्ने मकालु हिमाल (८,८४६३ मिटर) आरोहणका लागि दुई आरोही समूहका २० र गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूहले अनुमति लिएका छन् । तिलिचो हिमाल (७,१३३ मिटर)मा आठ र हिम्लुङ हिमाल (७,१२६ मिटर) मा सात आरोहीलाई अनुमति दिइएको छ ।
वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाख भन्दा बढी सलामी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै करीब रु ६६ करोड रोयल्टी जम्मा भएको छ ।
कोभिड–१९ महामारीबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ ।


















