काठमाडौं, २३ बैशाख । नेपाली कांग्रेसले पार्टीको सबै तहका संरचनालाई कोरोना महामारीले निम्त्याएको संकट समाधानमा लगाउने भएको छ ।
पार्टीको संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै कोभिड १९ महामारी विरुद्ध एकतावद्ध भै लड्न नेपाली कांग्रेसका सबै तह र तप्काका साथीहरुलाई संक्रमितहरुको पहिचान , उपचार र व्यवस्थापनमा खटिन आव्हान गर्नुभएको छ।
उहाँले स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नुपरेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल,सभाहल,रंगशालालाई क्वारेन्टाइन ,आइसोलेसन केन्द्र र होडिङ्ग सेन्टरको रुपमा उपयोग गर्ने कार्यमा अगुवाइ गर्न तथा आवश्यकता अनुसार पार्टीकै संरचनालाई समेत सो कार्यको प्रयोजनकालागी उपयोग गर्न पनि निर्देशन दिनुभएको छ।
नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग पनि माग गरेको छ ।
विभाग प्रमुख श्रेष्ठले सरकारले कोरोना संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरेको, अक्सिजन आपूति गर्न नसकेको, अस्पतालहरुमा पर्याप्त सैय्याको व्यवस्था गर्न नसकेको र निजी क्षेत्रका स्वास्थ्य संस्थासंग समन्वय गरेर जनतालाई विश्वसनीय र प्रभावकारी सेवा नसकेकोले स्थिति झनझन भयावह हुँदै गएको बताउनुभएको छ ।
विभाग प्रमुख श्रेष्ठले भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य कक्ष स्थापना गरी सबैको कोरोनाको परीक्षण गर्न, संक्रमण देखिएकालाई होल्डि. सेन्टर र आइसोलेशनमा राखी उचित व्यवस्थापन गर्न र कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र संबन्धित व्यक्तिलाई स्थायी घरबासमा पठाउन सरकारसग आग्रह गर्नुभएको छ ।
उहाँले हालसम्म बाहिरबाट आएका नागरिकहरुलाई सीधै घर जाने छुट दिएको कारण संभाव्य संक्रमितहरु गाउँ गाउँ पुगिसकेको हुनसक्ने भएकोले स्थानीय तहसँगको समन्वयमा कन्टयाक ट्रेसिङ गर्न पनि सरकारसंग माग गर्नुभएको छ ।
स्थानीय र प्रदेश तहसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल शय्या, सघन उपचार कक्ष शय्या, आइसोलेशन केन्द्र, क्वारेन्टिन र होल्डिड. सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमन गर्न काग्रेसले सरकारलाई सुझाव दिएको छ ।
कांग्रेसको संगठन विभागले केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड–१९ र साना अस्पताललाई ननकोभिड–१९ अस्पतालका रुपमा विकसित गरी आवश्यक उपचार र जीवनरक्षक औषधिको प्रबन्ध गर्न माग गरिएको छ ।
कांग्रेस नेता श्रेष्ठले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र संघ, प्रदेश र स्थानीय तहका समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
काग्रेसले महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायत सबैलाई बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न पनि माग गरेको छ ।


















