Prakash Adhikari May 8, 2021

अशोक दाहाल बीबीसी न्यूज नेपालीका लागि

काठमाडौं, २५ बैशाख । संसद् अधिवेशनको पूर्वसन्ध्यामा दुई मन्त्रीसहित २६ सांसदहरू कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई एकान्तवासमा बस्नुपर्ने भएको छ।

मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतो एवम् अन्य सङ्क्रमित सांसदहरूलाई आगामी साता प्रधानमन्त्रीको विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा मत हाल्ने अवसर दिने तयारी गरिएको बताइएको छ।

कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरका कारण उपत्यकासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाबीच सोमवारबाट शुरू हुने विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताउनुभएको छ।

त्यसअघि आइतवार बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सङ्क्रमित सांसदहरूका लागि मतदानको व्यवस्था गर्ने प्रक्रियाबारे निर्णय गर्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताउनुभयो।

विश्वासको मत लिने प्रस्ताव सफल वा असफल बनाउन थोरै सांसदहरूको सङ्ख्याले समेत फरक पर्ने भएकाले सबैलाई मतदानको व्यवस्था गर्नेबारे छलफल भइरहेको योगीले बताउनुभयो।

‘धेरै सांसदहरू कोरोना सङ्क्रमित रहेको खबर पाएपछि उहाँहरूलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ भन्नेबारे सभामुखले छलफल सुरु गर्नुभएको छ’, योगीले भन्नुभयाो।

कतिजना सांसद सङ्क्रमित ?

बुधवार र बिहीवार संसद् भवन नयाँ बानेश्वरमा २०५ जना सांसदको परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट आउँदा १८ जनामा सङ्क्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ।

त्यसअघि नै दुईजना मन्त्रीसहित आठजना सांसदहरू सङ्क्रमण भएर एकान्तवासमा थिए।

मन्त्री ढकाल र मन्त्री महतोले सामाजिक सञ्जालमा आफ्नो सङ्क्रमण पुष्टि गरिसक्नुभएको छ।

https://twitter.com/julimahto/status/1389976529640189956

सचिवालयका अनुसार सबैभन्दा धेरै सत्ताधारी नेकपा एमालेका १६ जना सांसदलाई सङ्क्रमण पुष्टि भएको छ भने जनता समाजवादी पार्टीका पाँच जना, नेपाली काँग्रेसको तीन जना र माओवादी केन्द्रका दुई जना सांसद सङ्क्रमित छन्।

एमालेका सङ्क्रमितमध्ये दुईजना मन्त्री र एकजना पूर्वप्रधानमन्त्री समेत रहेको सचिवालयले जनाएको छ।

सङ्क्रमित सांसदहरूलाई मतदानबाट वञ्चित गर्दा विश्वासको मतका लागि संसदको अङ्कगणितमै ठूलो फरक पर्ने भएपछि सत्ताधारी र विपक्षी दलहरू सबैलाई मतदानमा सहभागी गराउन एकमत भएका हुन्।

सङ्क्रमितको मतदान व्यवस्था

सत्ताधारी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सङ्क्रमित सांसदहरूलाई छुट्टै हलमा मतदानको व्यवस्था गरेर भए पनि विश्वासको मत लिने कार्यक्रम नरोकिने बताउनुभएको छ ।

‘कोभिड सङ्क्रमित भएकै कारण कोहि पनि सांसदहरू विश्वासको पक्ष वा विपक्षमा मत दिनबाट वञ्चित हुनुहुन्न। हामी आउनसक्ने जति सबै सांसदहरूलाई सुरक्षित तरिकाले मत दिन आउने व्यवस्था गर्छौँ ‘ भट्टराईले भन्नुभयो।

सबै सांसदहरूको कोभिड परीक्षण गरिएको छ

सबै सांसदहरूको कोभिड परीक्षण गरिएको छ

भट्टराईका अनुसार २७ गते नै विश्वासको मतमा मतदान गरेर प्रतिनिधिसभा अधिवेशन अन्त्य गरिनेछ।

“सभामुखले तोकेको दिनमा हुने भनिएको छ। भरसक २७ गते नै सकौँ भन्नेमा छौँ नभए २८ गते मतदान होला र त्यो एजेन्डा सकिनासाथ संसद् अधिवेशन अन्त्य हुन्छ”, उहाँले थप्नुभयो।

कुनै पनि सङ्क्रमित सांसदहरू अस्पतालमा भर्ना नभएका कारण अधिकांश सङ्क्रमित भएका सांसदहरू मतदानमा सहभागी हुने सम्भावना रहेको भट्टराई बताउँछन्।

प्रमुख प्रतिपक्षीको भनाई

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सङ्क्रमित सांसदहरूलाई छुट्टै हलमा राखेर भए पनि मतदानमा सहभागी गराउन सकिने बताउनुभयो।

“हाम्रो पनि ननकोभिडहरूलाई एउटा हलमा र सङ्क्रमितहरूलाई अर्को हलमा राखेर भए पनि अधिवेशन र मतदानमा भाग लिने व्यवस्था गरौँ भन्ने कुरा कार्य व्यवस्था परामर्श समितिको बैठकमा रहन्छ “, उहाँले भन्नुभयो।

सांसदहरूलाई निवास वा अस्पतालबाट संसद् भवनसम्म ल्याउनका लागि एम्बुलेन्स वा अन्य कुनै सुरक्षित साधनको व्यवस्था गरिने संसद् सचिवालयले जनाएको छ।

कोरोनाभाइरस महामारीकै बीच सञ्चालन भएका यसअघिका संसद् अधिवेशनहरूमा सङ्क्रमण भएका सांसदहरूलाई सहभागी हुने व्यवस्था गरिएको थिएन।

योपटक पनि सांसदहरूलाई परीक्षणको रिपोर्ट लिएर मात्रै संसद् बैठकमा सहभागिता जनाउन भनिएको छ।

प्रधानमन्त्रीले विश्वासको मत नपाए के हुन्छ?

प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवार कोरोनाभाइरस परीक्षण गरिएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवार कोरोनाभाइरस परीक्षण गरिएको छ

सत्ताधारी नेकपा एमालेको संसद्मा बहुमत नरहेका कारण प्रधानमन्त्री ओलीलाई बहुमतका लागि अर्को कुनै ठूलो दलको सहायता आवश्यक छ।

हालै सरकारबाट समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्र र प्रतिपक्षी काँग्रेसले विश्वासको मत नदिने बताइसकेका छन् भने निर्णायक मानिएको जनता समाजवादी पार्टीमा नेताहरू विभाजित छन्।

प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके स्वतः कामचलाउ हैसियतमा रहने र संविधान अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुने काँग्रेस प्रमुख सचेतक खाँडले बताउनुभयो।

Share Now

Leave a comment.