काठमाडौ, २५ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको संसदीय दलले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको संघीय संसदको संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभामा आफूमाथि प्रतिनिधिसभाका बहुमत सांसदहरुको विश्वास रहेकोले त्यसमा समर्थन गर्न राख्ने प्रस्तावको विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले बताउनुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँडका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको निर्णय पनि अनुमोदन गरेको छ ।
२१ चैतमा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।
शनिबार बिहान पार्टीको शीर्षस्थ नेता र संसदीय फाँटका पदाधिकारीबीच छलफल भएको थियो ।
शनिवारको संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवाले नयाँ सरकार निर्माणका लागि विभिन्न दलहरुसंग भएको छलफलको प्रगतिबारे पनि बताउनुभएको थियो ।
उहाँले आफ्नो नेतृत्वमा सरकार निर्माणको सम्भावना बढ्दै गएको पनि बताउनुभएको थियो ।
कांग्रेस सभापति गण्डकी र लुम्बिनी प्रदेशमा नेपाली कांग्रेससहितका विपक्षी दलहरुले त्यहाँका मुख्यमन्त्रीलाई हटाउन ल्याएको अविश्वास प्रस्ताव छल्न जे जस्ता गतिविधिहरु भएका छन् त्यसपछि प्रधानमन्त्री के.पी. ओली र उहाँको दलसंग कांग्रेस सभापति देउवा झस्कन थाल्नुभएको छ ।
पहिले के.पी.ओलीको विरोध गर्न नरुचाउने कांग्रेस सभापति अहिले दिनमा ३ पटक प्रेस विज्ञप्ति निकालेर ओली सरकारलाई सत्तोसराप गर्न अग्रसर हुन थाल्नुभएको छ । उहाँकै अग्रसरतामा उहाँका जेठान प्रदीप समशेर राणाको महाराजगञ्जस्थित घरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूह र नेकपा एमालेको असन्तुष्ट समूहको दुई चरण गोप्य वार्ता भैसकेको छ ।
गत मंगलबार भएको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पुग्न नदिएर हटाउने र त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने रोडम्याप तयार भएको बताइन्छ । सो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादवको सहभागिता रहेको थियो ।
चारदलका नेताहरुबीच प्रधानमन्त्रीबाट के.पी. शर्मा ओलीलाई हटाउने सन्दर्भमा त्यसको दुई हप्ता पहिले पनि शीर्ष नेताहरुबीच प्रदीपसमशेरकै घरमा छलफल भएको थियो ।
यी दुई चरणको छलफलपछि सत्ताच्यूत हुनुपर्ने भयले अत्तालिनुभएका प्रधानमन्त्री के.पी.ओलीले विगत दुईदिन देखि माधवकुमार नेपाल र उहाँ निकट नेता तथा सांसदहरुलाई विभिन्न तहमा फकाउन थाल्नुभएको छ । माधव नेपाललाई फकाउन उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि उपयोग गरिसक्नुभएको छ ।
मौका पर्नासाथ डसिहाल्ने साप जस्तो स्वभाव देखाउदै आउनुभएका प्रधानमन्त्री ओलीमाथि एमालेका शीर्ष नेता नेपाल र उहाँको समूहले देखाउने विश्वास अविश्वासले नै सो समूहको अस्तित्व र ओली सरकारको पतनको मार्ग तय गर्ने देखिन्छ ।