काठमाडौं, २५ बैशाख । नेपाली काँग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अस्पतालहरुमा पर्याप्त अक्सिजन र बेडको व्यवस्था गर्न तथा अक्सिजनको कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गर्नुभएको छ ।
सहमहामन्त्री शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै सो माग गर्नुभएको हो । उहाँले आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न पनि माग गर्नुभएको छ ।
डा. महतले कोरोना भाइरसको संक्रमणमा परेका विरामीहरु अस्पताल बेड नपाएर उपचारबाट वञ्चित भएका र काठमाडौं उपत्यकासहित देशका विभिन्न भागका अस्पतालमा अक्सिजनको गम्भीर अभाव भएका खबरप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको छ ।
उहाँले कोरोना भाइरसका विरामीहरुलाई पर्याप्त अक्सिजनको व्यवस्था गर्न र सोको लागि देशमा रहेका सबै अक्सिजन प्लान्टहरुको मर्मत संभार गरी पूर्ण क्षमतामा सञ्चालन गर्न, अक्सिजन आपूर्तिको जिम्मेवारी लिएका डिलरहरुलाई माग अनुसार अक्सिजन आपूर्ति सुनिश्चित गर्न जिम्मेवार बनाउन, जमाखोरी र कालोबजारी हुन नदिने व्यवस्था मिलाउन पनि सरकारसंग आग्रह गर्नुभएको छ ।
उहाँले सरकार कोरोनाका विरामीहरुको उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको बताउदै भन्नुभएको छ्, ‘सरकार संक्रमितहरुको आवश्यकता अनुसार न अस्पतालहरुको थप व्यवस्था गर्न सकिरहेको छ न अक्सिजनको समुचित आपूर्ति सकेको छ ।’
उहाँले सरकारसंग आवश्यकता अनुसार देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको बाँच्न पाउने र संविधानले सुनिश्चित गरेको स्वास्थ्योउपचारको मौलिक हकको उपभोग गर्ने वातावरण सुनिश्चित गर्न माग गर्नुभएको छ ।


















