काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पार्टीभित्रका असन्तुष्ट पक्षले राखेको सानो शर्त स्वीकार गर्न अनिच्छा देखाएपछि असन्तुष्टहरु सामूहिक राजिनामा दिन बाध्य हुने परिस्थिति सिर्जना भएको छ ।
प्रधानमन्त्री ओलीलाई २०७५ जेठ ३ मा तात्कालीन नेकपा माओवादी केन्द्रसंग भएको एकीकरण पूर्वको अवस्थामा फर्कन बिहान ९ बजेसम्मको अल्टिमेटम(समय सीमा) दिएका असन्तुष्टहरुलाई प्रधानमन्त्रीले कुनै जवाफ दिनुभएको छैन् ।
प्रधानमन्त्री पार्टीका विभिन्न पक्षहरुलाई समेटेर लैजान अनिच्छुक देखिएको भन्दै असन्तुष्ट पक्षका सांसदहरु सामूहिक राजिनामाबारे निर्णय लिन बैठक बसिरहेको बताइएको छ। असन्तुष्ट पक्षका नेताहरुका अनुसार अन्तिम निर्णयका लागि सांसदहरु अहिले सिंहदरबारमा भेला भएका छन्।
आइतबारै सामूहिक राजीनामा दिने निर्णय र तयारी गरेका असन्तुष्ट नेताहरु सिंहदरबारस्थित संसद सचिवालयका बेला प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ त्यहीं माधव नेपाललाई भेट्न पुगेपछि राजीनामा रोकिएको थियो। त्यही उहाँहरुले बिहान ९ बजेसम्मको समयसीमा दिएर प्रधानमन्त्री फागुन २८ गते र चैत्र ७ गतेको निर्णय उल्ट्याउदै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा फर्कन तयार भए राजिनामा रोकिने सन्देश पठाउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले फागुन २८ गते आफूसंग असन्तुष्ट नेताहरुलाई कारबाहीको लागि स्पष्टीकरण पत्र पठाउने, जिम्मेवारीबाट हटाउने र नेकपा माओवादीका २३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गर्नुएको थियो भने फागुन ७ गते आफू र महासचिव बाहेकका पदाधिकारी र सिंगो केन्द्रीय कमिटि भंग गरेर पार्टी महाधिवेशन आयोजक समिति बनाउनुभएको थियो ।
यो कदमले उहाँले पार्टीका महासचिव बाहेक सबैलाई जिम्मेवारीबाट मुक्त गरी पूरै अधिकार आफूमा केन्द्रित गर्दै असन्तुष्ट पक्षलाई कारबाहीका लागि दोस्रोपटक स्पष्ष्टीकरण सोधेर निकाल्ने तयारी अवस्थामा बस्नुभएको थियो ।
सिंहदरबारमा प्रधानमन्त्रीका बिशेष दूतहरुमार्फत सामूहिक राजिनामाको पूर्वशर्त र अल्टिमेटमको सन्देश पठाउनुभएका असन्तुष्ट पक्षका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आइतबार मध्यराति माधव नेपालले ओलीलाई ६ बुँदे पत्र पनि पठाउनुभएको थियो ।


















