काठमाडौं,२९ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच एकीकृत पार्टीमा समान हैसियतमा बस्ने सहमति भएको छ ।
ललितपुरको मानभवनमा अवस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा भएको दुई नेताहरुको आपसी वार्तामा दुवै जना एकीकृत पार्टीको सहअध्यक्षमा बस्न राजीभएका हुन ।
नेकपा एमालेका नता र कार्यकर्ताबाट पार्टी अध्यक्ष ओलीले पार्टीको नेतृत्व पनि छोड्न नहुने र सरकारको नेतृत्व पनि आफै गर्नुपर्ने अभिव्यक्ति दिन थालेपछि रन्थनिदै गृहनगर भरतपुर हानिएका माओवादी अध्यक्ष प्रचण्डले अहिले उभिएको ठाँउ अर्थात एकीकरण र बामगठबन्धन)बाट देश र जनताको पक्षमा काम गर्न सकिदैन भन्ने लागेमा फड्को हान्न बेर मान्दिन भनेर एमालेलाई निरन्तर चेतावनी दिएको थिए ।
नेकपा एमालेका लागि पनि अहिले प्रचण्डसंगको सहकार्य र एकता बाध्यता जस्तै बन्न पुगेको छ । प्रचण्डलाई सहकार्य र एकताबाट बाहि राख्दा संसदमा बहुमत नरहेकोले मधेशबादी दलको समर्थन लिनु पर्ने र त्यो झन भरपर्दो नहुने एमाले कार्यकर्ताको ठम्याई छ ।
प्रचण्डसंगको सहयात्रा टुटाउदा उनी नै आउदा दिनमा आफू विरुद्ध उभिने खतरा देखेको एमालेले प्रचण्डलाई समाहित गरेपनि आउदो एकता महाधिवेशनमा एमाले पृष्ठभूमिका नेताहरुले अधिक मत ल्याएर पार्टीमा पकड जमाइराख्ने निष्कर्ष एमाले नेताहरुको रहेको छ ।
केन्द्रमा राष्ट्रपति उपराष्ट्रपति , राष्टिय सभाका अध्यक्ष उपाध्यक्ष, प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख देखि केन्द्रीय र ६ वटा प्रदेशमा सरकार र स्थानीय तहमा एकछत्र राज गर्ने सपना पालेको एमालेले सत्ताको नयाँ स्वाद चाख्नका लागि माओवादी पार्टी र त्यसका अध्यक्षलाई तेलबेसार लगाएरै राख्नपर्ने अवस्था छ । उनी भड्किए भने ओलीको सत्ता महिना दिनमै ढल्न सक्छ ।
आजको बैठकमा ओलीसंग समान हैसियतमा पार्टीमा बस्ने कुरामा समझदारी कायम भए लगत्तै माओवादी अध्यक्ष प्रचण्डले २ नं प्रदेश बाहेकका ६ वटै प्रदेशका माओवादी संसदीय दलका नेताहरुलाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका छन् ।
प्रचण्डको फोनपछि प्रदेश ३ का नेता शालिकराम जमरकट्टेल मन्त्रालय नतोकिए पनि सरकारमा सहभागी हुन तयार भएका हुन् ।
दुवै नेताले पार्टी एकता निष्कर्षमा पुग्न लागेको जानकारी दोस्रो तहका प्रभावशाली नेतालाई गराएका छन् ।
दुवैै अध्यक्ष र पार्टीका नेताहरु सबैले उत्तिकै मान्ने पुराना कम्युनिष्ट नेतालाई एकीकृत पार्टीको अध्यक्षको खोजीमा छन् । त्यस्तो व्यक्तित्व बामगठबन्धनभित्र मोहनविक्रम सिंह मात्र देखिन्छन् ।