हेटौंडा(मकवानपुर),२९ माघ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन् ।
जम्मरकट्टेलले प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकोे जिम्मेवारी दिइएको छ भने स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
दुबै मन्त्रीलाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
पार्टी एकता अगाडि नबढेमा केन्द्रदेखि प्रदेश तहको सरकार गठनमा अग्रसर नहुने मनस्थितिमा पुगेको माओवादी नेता र कार्यकर्ताहरु दिउसो एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचकोे छलफल सकारात्मक भएपछि सरकारमा जान मञ्जुर भएका हुन्।
वार्ता लगतै प्रचण्डले प्रदेशसभा संसदीय दलका नेता जम्मरकट्टेललाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका थिए ।