Prakash Adhikari May 16, 2021

 

काठमाडौं, २ जेठ । ख्यातिप्राप्त फिल्म निर्देशक, गीतकार तथा उपन्यासकार चेतन कार्कीको निधन भएको छ ।
काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा ८४ वर्षको उमेरमा आइतवार उहाँको निधन भएको हो ।

बैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आउनुभएका उहाँलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।​

‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ जस्ता फिल्मको निर्देशन गर्नुभएका कार्कीले थुप्रै फिल्मको स्क्रिप्ट र गीत लेख्नुभएको छ ।

कलाकार तथा निर्देशक नीर शाहको पहिलो फिल्म ‘परिर्वतन’ देखि स्क्रिप्ट लेखन सुरु गर्नुभएका कार्कीको जन्मथलो स्याङ्जा हो ।

चार वर्षको उमेरमै बाबुले दाजुसँग देहरादून लगेर गोर्खा मिलिट्री स्कूलमा भर्ना गरिदिनु भएपछि चेतनले त्यहाँ नौ कक्षासम्म पढनुभएको थियो ।

भारतको बसाइले उहाँले नेपालीसँगै हिन्दी र उर्दूमा पनि कविता लेख्नुभएको थियो । उनका तीनै भाषामा कविता प्रकाशित छन् ।

उहाँले ‘आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमुन’सहित थुप्रै उपन्यास लेख्नुभएको छ ।

पोखराको मत्स्य विभागमा ६ वर्ष जागिर खानुभएका चेतन कार्कील त्यसपछि राजीनामा दिएर नेपाली फिल्म क्षेत्रमा हामफाल्नुभएको थियो ।

उहाँको निधनप्रति कलाकार,साहित्यकार र कला तथा साहित्यप्रेमी राजनीतिज्ञ र सचेत नागरिकहरुले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

Share Now

Leave a comment.