Prakash Adhikari May 18, 2021
GP Koirala National Center for Respiratory Disease Control

मजुवा खैरेनी(तनहुँ), ४ जेठ । सङ्घीय सरकारद्वारा शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ९ करोड बजेट विनियोजन भएको छ । कोभिड लक्षित पूर्वाधार थप्न सङ्घीय सरकारले प्राथमिकता दिई बजेटको व्यवस्था गरेपछि उपचारमा सहज हुने भएको छ ।

उक्त केन्द्रमा पाँच भेन्टिलेटर र १० आइसीयू शय्या जडानका लागि रु ६ करोड र अक्सिजन प्लान्ट निर्माण र अक्सिजन उत्पादनका लागि रु ३ करोड गरी जम्मा रु ९ करोड अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।

अस्पतालमा भेन्टिलेटर र अक्सिजन प्लान्ट आफ्नै भएपछि उपचारमा थप सहज हुने विश्वास गरिएको केन्द्रका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा कोभिडका बिरामी बढेपछि प्रतिनिधिसभा सदस्यद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ (किसान) तथा राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलगायतले अर्थ मन्त्रालयमा बजेटका लागि पहल गर्नुभएको बताइएको छ ।

त्यसैगरी अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अस्पतालको मागबमोजिम रु ३० लाख उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

गण्डकी प्रदेश सरकारले रु ७५ लाख विनियोजन गरेपछि सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अघि बढाइएको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजनको अभाव हुन थालेपछि प्लान्ट निर्माण प्रक्रिया अघि बढाइएको हो ।

कोभिडका बिरामीका लागि अस्पतालले छुट्टै कक्षको स्थापना गरी उपचारको व्यवस्था मिलाइएको छ । अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले रु ७५ लाख विनियोजित गरेकामा रु ५३ लाखमा बोलपत्र स्वीकृत भई काम शुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।

बन्दाबन्दीको अवस्था भए पनि अत्यावश्यक क्षेत्र भएकाले उपकरण भारतबाट ल्याई छिट्टै प्लान्ट निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

अक्सिजन प्लान्ट निर्माणपश्चात दैनिक १० सिलिण्डर उत्पादन गर्न सकिने छ । अस्पतालमा उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको छ । आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्तिमा विश्वसनीय हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना लक्षित बिरामीका लागि अस्पतालमा भेन्टिलेटरसहितको अलग उपचार कक्ष सञ्चालन गरी १६ सङ्क्रमितको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख गुरुदत्त घिमिरेले बताउनुभयो । उपचारका लागि अहिले चार चिकित्सक र चार स्टाफ नर्स परिचालन गरी सेवा प्रदान गरिएको छ ।
दमौली अस्पतालमा छिमेकी जिल्ला लमजुङ, गोरखा र कास्कीका केही क्षेत्रका मानिस उपचारका लागि आउने अस्पतालले जनाएको छ ।

आइसीयू अभावमा वृद्धको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ८१ वर्षीय कोरोना सङ्क्रमित वृद्धको सोमबार निधन भएको छ । कोरोना सङ्क्रमणसँगै निमोनियाबाट ग्रस्त वृद्धको आइसीयूमा उपचार गर्नुपर्ने भए पनि आइसीयूको व्यवस्था नहुँदा मृत्यु भएको हो । स्थानीय जिपी कोइराला अस्पतालको आइसोलेशनमा उपचाररत वृद्धको निधन भएको हो । अवस्था नाजुक हुँदै गएपछि विभिन्न अस्पतालमा आइसीयू सेवाका लागि पहल गरे पनि कतैबाट सहयोग नहुँदा आइसोलेशनमा नै निधन भएको केन्द्रले जनाएको छ । अस्पतालका कार्यकारी प्रमुख डा श्रेष्ठले आइसीयू अभावमा बिरामीले ज्यान गुमाउनुपरेको बताउनुभयो ।

Share Now

Leave a comment.