काठमाडौं, ९ जेठ । विश्व महामारीको रुप लिएको कोरोना भाइरसको दोस्रो लहरबाट नेपाली जनतालाई बचाउन अष्ट्रेलियाको सरकारले थप साढे ६३ करोड रुपैया( ७ मिलियन अष्ट्रेलियन डलर) सघाउने भएको छ ।
काठमाडौंस्थित अष्ट्रेलियन राजदूतावासका अनुसन्धान तथा कार्यक्रम अधिकृत कृष्णबहादुर कार्कीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार यो सहयोग अष्ट्रेलियाले बंगलादेश,नेपाल र श्रीलंकालाई दक्षिण एशियामा सहनशिलता अभिबृद्धि गर्न दिइने १ करोड ७५ लाख अष्ट्रेलियन डलर अन्तरगतको हो ।
अष्ट्रेलिया सरकारले आफूले दिएको सहयोगले अत्यावश्यक सामग्रीको खरिद,अक्सिजन र स्वास्थ्यकमीहरुलाई सुरक्षात्मक उपकरण तथा सामग्री खरिदमा नेपालको क्षमता बढाउने विश्वास लिएको छ ।
अष्ट्रेलियाले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका,जापान र राष्ट्रसंघीय निकायहरुसहितका अन्य दातृ मुलुकहरुको समन्वयमा नेपालका तल्लो तहसम्म काम गर्ने उसका विश्वसनीय विकास साझेदारहरुमार्फत यो सहयोग परिचालन हुने जनाएको छ ।
अष्ट्रेलियाको सरकारले नेपाललाई कोभ्याक्स अन्तरगतको सुरक्षित र प्रभावकारी खोपसहित थप खोप सहयोग पनि जारी राख्ने बताएको छ ।
नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपालका अधिक प्रभावित समुदायलाई सघाउनका लागि अष्टेलियाले काम गरिरहेको उल्लेख गर्दै यो सहयोगमार्फत अष्ट्रेलियाले क्षेत्रीय अस्पताल र जोखिममा रहेका समुदायहरुमा जरुरी स्वास्थ्य आवश्यकताहरु पूर्ति गर्न नेपाल सरकारसंंग साझेदारी गर्ने जनाउनुभएको छ ।
उहाँले नेपालीहरु अष्ट्रेलियाली सरकार र जनताको हृदय र मस्तिष्कमा रहेको बताउनुभएको छ ।


















