काठमाडौं, १० जेठ । नेपालमा सोमबार अपरान्हसम्म थप १ सय ८५ जनाको घातक कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ भने ७ हजार ४ सय २५ जना यस घातक भाइरसको संक्रमणमा परेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए अनुसार २० हजार ४ सय ५३ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा सो सङ्क्रमण पुष्टि भएको हो।
सो अवधिमा ७ हजार १ सय ३५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालय सोमवार अपराह्ण जनाएको छ।
यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २० हाजरभन्दा बढी भएको छ भने मृतकको सङ्ख्या ६ हजार ५ सय ३१ पुगेको छ।
अहिले पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा २ सय ९८, ललितपुरमा ६ सय ८१ र काठमाडौंमा १ हजार ८ सय ६ गरी उपत्यकामा कुल २ हजार ७ सय ८५ जनामा कोभिड पुष्टि भएको हो।
मन्त्रालयका अनुसार अहिले देशभरि १ लाख १५ हजार ४४१ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये १ लाख ८ हजार ७१ जना घरमै छन् भने ७ हजार ३ सय ७८ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १ हजार ६ सय ९७ जना आईसीयूमा ४ सय ६७ जना भेन्टिलेटरमा छन्।
नेपालगन्ज शिक्षण अस्पतालमा कोभिडका बिरामीको उपचार कसरी भइरहेको छ ?
भारतको स्थिति
नेपालसँग सीमा जोडिएको भारतमा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।
तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ। भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ३ लाख नाघेको छ।
महामारीको दोस्रो लहरमा परेको भारतका ग्रामीण क्षेत्रमा भएका मृत्यु नगनिएको हुन सक्ने वास्तविक सङ्ख्या योभन्दा उच्च हुनसक्ने विज्ञहरूले बताएका छन्।
भारतमा कोभिड
भारत सरकारका अनुसार अहिलेसम्म २.६७ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ ।
त्यहाँ अहिलेसम्म २१.८ करोड मात्रा खोप दिइसकिएको सरकारी तथ्याङ्क छ।
भारतमा सोमवार बिहानसम्मको तथ्याङ्क :
निकोः २,३७,२८,०११ (८८.६९)
सक्रिय सङ्क्रमणः २७,२०,७१६
मृत्युः ३,०३,७२०