मिन्स्क(बेलारुस), ११ जेठ । बेलारुसद्वारा विमानलाई आकाशबाटै जबरजस्ती मोड्न लगाएर पक्राउ गरिएका पत्रकारका पिताले आफ्नो छोरालाई यातना दिने त्रास बढेको बताउनुभएको छ।
२६ वर्षीय पत्रकार रोमन प्रोटासेभिच ग्रीसबाट लिथुआनिया जाँदै गर्दा उहाँ सवार विमानलाई बेलारुसले बम भएको भन्दै उसको राजधानी मिन्स्कमा ओरालेको थियो।
पाश्चात्य देशहरूले एक विपक्षी अभियानकर्मी पत्रकारलाई पक्राउ गर्न र्यानएअरको विमान अपहरण गरेको बेलारुसमाथि आरोप लगाएका छन्।
E.U. agrees to impose sanctions on Belarus, bars E.U. airlines from country's airspace, after authorities forced down a Ryanair jet https://t.co/QsFGWaMyNR
— The Washington Post (@washingtonpost) May 24, 2021
दबावमा रेकर्ड गरिएको जस्तो देखिने एउटा भिडिओ सार्वजनिक गरिएको छ जसमा प्रोटासेभिचले आफू स्वस्थ्य रहेको बताउनुभएको छ र बेलारुसले लगाएका अभियोगहरू स्वीकारेको जस्तो देखिन्छ।
तर विपक्षी नेताहरू एवं अभियानकर्मीहरूले उक्त भिडिओको आलोचना गर्दै प्रोटासेभिचमाथि दबाव दिएर स्वीकार गर्न लगाइएको बताएका छन्।
तस्बिरमा प्रोटासेभिचको निधारमा केही चोटजस्तो देखिन्छ। उहाँका मित्रहरूले पक्राउपछि कुटपिट भइरहेको बताएका छन्।

पत्रकार
पत्रकारका पिता डिमित्री प्रोटासेभिचले सोमवार आफ्ना छोरालाई बेलारुसका अधिकारीहरूले कस्तो व्यवहार गर्लान् भन्नेबारे निकै डर लागेको बताउनुभएको छ।
२१औँ शताब्दीमा युरोपको मध्यमा यस्तो घटना हुन नपर्ने उहाँले बताउनुभयो।
पश्चिमा देशहरू क्रुद्ध
भिडिओ सार्वजनिक गरिएलगत्तै युरोपेली युनियनले बेलारुसमाथि थप प्रतिबन्ध लगाउन सहमति जनाएको छ।
उसले विमानसेवाहरूलाई बेलारुसको आकाश प्रयोग नगर्न भनेको छ तथा बेलारुसका विमानसेवाहरूलाई ईयूको क्षेत्रमा उड्न प्रतिबन्ध लगाएको छ।
बेलारुस प्रजातान्त्रिक नभएसम्मका निम्ति उसका निम्ति भनेर छुट्ट्याएको साढे ३ अर्ब डलरको युरोपेली लगानी प्याकेज स्थगित गरिने युरोपेली आयोगकी प्रमुख उर्जुला फन डेर लयनले बताइन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले बेलारुसको कार्यको निन्दा गर्दै त्यहाँका अधिकारीहरूलाई जबाफदेही बनाउन अमेरिकी अधिकारीहरूलाई आदेश दिएका छन्।

यात्री
बेलारुसले र्यानएअरको उक्त विमानमा बम रहेको भन्दै आकाशबाटै लडाकू विमानले घेरेर जबरजस्ती मिन्स्कमा ओरालेको थियो।
विमानमा सवार १ सय २६ यात्रुलाई बाहिर निकालेर प्रहरीले प्रोटासेभिचलाई पक्राउ गरेको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार प्रोटासेभिचको महिला साथी सोफिया सापेगा सहित पक्राउ गरिँदा प्रोटासेभित्र निकै त्रसित देखिनुहुन्थ्यो।
बेलारुस एक मात्र युरोपेली देश हो जहाँ बन्दीहरूलाई मृत्युदण्ड दिइन्छ।
अन्य तीन यात्रुहरू पनि विमानको अन्तिम गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा नपुगेको र्यानएअरका प्रमुखले बताउनुभएको छ।
उहाँले ती यात्रु बेलारुसी केजीबी एजेन्ट भएको हुनसक्ने बताउनुभयो। त्यसको स्वतन्त्र पुष्टि भएको छैन।
बेलारुसले चाहिँ प्यालेस्टिनी हमास विद्रोही समूहले विमानमा बम राखेको धम्की दिएकाले उसलाई मोड्न परेको बताएको छ।
बेलारुससम्बन्धी केही तथ्य
अवस्थिति
बेलारुसको पूर्वमा उसको निकट साझेदार देश रुस छ भने दक्षिणमा यूक्रेन छ।
उत्तर तथा पश्चिममा इयु एवं नेटोका सदस्य राष्ट्रहरू लात्भिया, लिथुआनिया र पोल्यान्ड छन्।
किन महत्त्वपूर्ण छ ?
करिब ९५ लाख जनसङ्ख्या भएको बेलारुस यूक्रेनजस्तै पश्चिमा तथा रुसको द्वन्द्वमा चेपिएको छ।
राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोलाई युरोपका अन्तिम तानाशाह भनिन्छ। उनी २७ वर्षदेखि सत्तामा हुनुुहुन्छ।
त्यहाँ के भइरहेको छ ?
बेलारुसमा नयाँ प्रजातान्त्रिक नेतृत्व तथा आर्थिक सुधारको माग गर्दै ठूलो विपक्षी आन्दोलन भइरहेको छ।
विपक्षी आन्दोलनकारी तथा पश्चिमा सरकारहरूले लुकासेन्कोले गत वर्ष अगस्ट ९ मा भएको चुनावमा धाँधली गरेर जितेको बताएका छन्।
आधिकारिक नतिजामा लुकासेन्कोले अत्यधिक बहुमतले जितेको जनाइएको छ।
सडक प्रदर्शनविरुद्ध भएको प्रहरी दमनमा परेर कैयौँ विपक्षी नेता या त जेलमा पुगेका छन् या निर्वासनमा अन्यत्र गएका छन्।


















