काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप हुने भएको छ ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले उपत्यकामा कोरोना संक्रमणको दर घटन नसकेको भन्दै खाद्यान्न पसल पनि खोल्न नदिने निर्णय गरेको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको जानकारी दिनुभयो।
बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको हो।
अहिले विहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ।
अब तरकारी पसल विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ।
नयाँ निर्णय जेठ १४ गते शुक्रबार विहान देखि कार्यान्वयनमा आउने बताइएको छ ।
उपत्यकामा हाल लागिरहेको निषेधाज्ञाको अवधि जेठ १३ गते मध्य रातिदेखि सकिँदैछ।
उल्लंघनकर्तालाई दण्ड र सजाय
उपत्यकाका प्रजिअहरुको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बर्जित गरिएका काम गर्ने उल्लंघनकर्तालाई दण्ड सजाँयमा छुट नदिने निर्र्णय पनि गरेको छ ।
काठमाडौं जिल्ला प्रशासनले सोमबार नै सार्वजानिक सूचना जारी गर्दै हालै ल्याइएको कोभिड १९ संक्रमण व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार दण्ड र सजाँय गर्ने जानकारी दिएको छ
हालै जारी गरेको अध्यादेशमा कानून बमोजिमको काम गर्न अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने ,मापदण्ड पालना नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ ।
यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।