काठमाडौं, १४ जेठ । नेपालमा विगत २४ घण्टामा थप ६ हजार ९ सय ५१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ भने यस घातक भाइरसले ९६ जनाको जीवन लिएको छ ।
शुक्रवार प्रकाशित मृतकको तथ्याङ्कमा पनि नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवहरूको सङ्ख्या पनि समाविष्ट भएको मन्त्रालयको भनाइ छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक विवरण अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणको कारण जीवन गुमाउनेको संख्या मृतकको कुल सङ्ख्या ७, हजार ४७ पुगेको छ।
विगत २४ घण्टामा २० हजार १ सय १० जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको शुक्रवार मन्त्रालयले जनाएको छ।
अहिलेको वृद्धिसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५ लाख ४९ हजार नाघेको छ ।
अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १३ हजार ३ सय ९४ भएको मन्त्रालयले जनाएको छ।
तीमध्ये झन्डै आठ हजारभन्दा केही कम संस्थागत आइसोलेशनमा र १ लाख ५ हजार ४ सय ४४ जना घरमै एकान्तवासमा भएको सरकारी तथ्याङ्क छ।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले १ हजार ६ सय २७ जना बिरामी आईसीयूमा र ४ सय ५० जना भेन्टिलेटरमा छन्।
अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। सो अवधिमा ९ हजार ८ सय ४१ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोभिड भएर निको हुने दर ७८.१ प्रतिशत रहेको सरकारले जनाएको छ।


















