काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा गतबर्षको भन्दा स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभएको हो ।
उहाँले स्वास्थ्य क्षेत्रको १ खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।
उहाँले सरकारले कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत गरेको र बजेट अभाव हुन नदिने जानकारी पनि दिनुभयो ।
यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले कोरोना महामारी नियन्त्रण तथा त्यसविरुद्धको खोप खरीदका लागि अर्बौँ रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नेपाली जनतालाई निःशुल्क उपलब्ध गराउन रु २६ अर्ब ७५ करोड विनियोजन गरिएको बताउनुभयो ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि रु ३७ अर्ब ५७ करोड छुट्याइएको तथा रोगको उपचारका लागि आवश्यक पर्ने औषधि उपकरण खरीदका लागि रु ५ अर्ब ६० करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।
महामारी नियन्त्रणका निम्ति आवश्यक पर्ने अस्पतालसहित भौतिक पूर्वाधार निर्माणका लागि सो रकम विनियोजन गरिएको हो । अर्थमन्त्रीले स्वास्थ्य उपकरण आयातमा भन्सार नलाग्ने व्यवस्था गरिएको पनि बताउनुभयो ।


















