काठमाडौं, २ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार
राती बुझाएको छ।
चुनाव भएको ७० दिनपछि बुधवार राती साढे ९ बजे आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएको हो।
निर्वाचन आयोगले समय लिएर पनि शीतल निवास पुग्न विलम्ब गरेपछि राष्ट्रपति भण्डारी नेपाली सेनाले महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा सैनिक मुख्यालयमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन गएकी थिइन् ।
डिनर सहित राखिएको सो कार्यक्रमबाट फर्कन बिलम्ब भएकोले आयुक्तहरुले साढे ९ बजेमात्र प्रतिवेदन बुझाउने मौका पाएका थिए ।
‘प्रतिवेदन बुझाउन प्रमुख आयुक्त अयोधिप्रसाद यादव सहित सबै आयुक्तहरु शीतल निवास पुगेका थिए ।
आयोगले दलहरुलाई समानुपातिकको सूची सच्याउन आज साँझ पाँच बजेसम्मको समय दिएको थियो।
दलहरुले सच्याएर पठाएको सूची रुजु गरी प्रतिवेदनमा समावेश गरी तयार पार्न समय लागेकोले आयोगका पदाधिकारीहरु राष्ट्रपति सेनाको कार्यक्रममा निस्केपछि पुगेका थिए ।
मंसिर १० र २१ गते भएको प्रतिनिधि सभाको चुनावबाट ५ दल राष्ट्रिय पार्टी बनेका छन्।
जसमध्ये एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। उसले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ सिट जितेको छ।
समानुपातिकको ४० सहित कांग्रेसले ६३ सिट ल्याएर दोस्रो पार्टी बनेको छ।
प्रत्यक्षमा ३६ सिट जितेको माओवादी केन्द्रले समानुपातिकबाट १७ सिट पाएको छ।
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले प्रत्यक्ष क्रमशः ११ र १० सिट पाएका छन् भने समानुपातिकमा ६/६ सिट ल्याएका छन्।
राष्ट्रपतिलाई मतपरिणाम बुझाएपछि नयाँ सरकार गठन प्रकृया अघि बढाउने बाटो खुलेको छ।