काठमाडौं, २ फागुन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले स्थायी समितिको बुधबार बसेको आकास्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको हो ।
संसदमा बहुमत प्राप्त दलबाट प्रधानमन्त्री बन्न संसदीय दलको नेता चयन गर्नुपर्दछ तर बहुमत प्राप्त नभएमा प्रतिनिधिसभामा दुई वा दुईदलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
संंवैधानिक व्यवस्था अनुसार माओवादीको समर्थनमा बहुमतको प्रधानमन्त्री बन्नको लागि एमालेले संसदीय दलको नेता चयन गरिराख्नु पर्ने देखिदैन ।२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १ सय २१ र माओवादीका ५३ सांसद छन् ।
एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ ।
आजको एमाले स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माआवादी केन्द्रका अध्यक्षसंग पार्टी एकीकरण र सरकारको नेतृत्व तथा सहभागिताका सम्बन्धमा हालसम्म भएका मौखिक सहमतिका विषय राखेका थिए ।
उनले पार्टीमा दुवै नेता समान हैसियतमा बस्ने र सरकारको नेतृत्व पहिलो ३ बर्ष आफूले गर्ने र पछिल्ला दुई बर्ष प्रचण्डले गर्ने सहमति भएको बताएका थिए ।