Prakash Adhikari May 30, 2021

 

काठमाडौं, १६ जेठ । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको विरुद्धमा रहेका राजनीतिक दलका नेताहरुले सरकारका तर्फबाट हिजो अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नुभएको आगामी आर्थिक बर्ष २०७८। ७९ को बार्षिक बजेटको विरोध गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाो निवासमा आइतबार बिहान बसेको सरकारको विरुद्धमा रहेका राजनीतिक शक्तिहरुका नेताहरुको बैठकले यस्तो विरोध गरेको हो ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंगको मिलेमतोमा संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेको र संसदमा पेश गर्नुपर्ने बजेट अध्यादेशमार्फत ल्याएकोमा विरोध गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम वैकल्पिक सरकारको गठन गर्न आह्वान भए अनुरुप निर्धारित समयावधिभित्रै १ सय ४९ जनाको हस्ताक्षरसहित दावी पेश भएको विषयमा विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसदहरुले आफै उपस्थित भएर सर्वोच्च अदालतमा दिएको रिट निवेदनको सुनुवाई भैरहेको र अदालतबाट संविधानको अक्षर र भावना अनुरुप फैसला हुनेमा आफूहरु विश्वस्त रहेको जनाइएको छ ।

सरकार विरोधी गठबन्धनका नेताहरुले संवैधानिक सर्वोच्चता,कानूनी राज र स्वतन्त्र न्यायप्रणालीको परिकल्पना गरेको वर्तमान संविधान अनुसार अदालतबाट न्याय हुने भएकोले सरकारले गरेका गैरसंवैधानिक क्रियाकलापमा संलग्न नहुन राष्ट्रसेवक कर्मचारी र संवैधानिक अंगका पदाधिकारीसहित राजनीतिक नियुक्ति प्राप्त व्यक्तिहरुलाई चेतावनी दिनुभएको छ । ।

Share Now

Leave a comment.