Prakash Adhikari June 2, 2021

काठमाडौं, १९ जेठ । विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार ४४ बर्षो उमेरमा अकल्पनीय निधन भयो।

वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाउनुभएका थापा कोरोनाभाइरस सङ्क्रमणमा परेपछि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो।

“विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, उज्वलबहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४ ः२५ बजे ) हामीबीच रहनु भएन”, थापाको परिवार र शुभेच्छुकको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

अन्तिम पटकको कोरोनाभाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको बताउँदै परिवारले थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्यो।

परिवारद्धारा जारी विज्ञप्तिमा भनिएको छ , “युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ।”

लोकप्रिय नेता
कहिल्यै लाभको पदमा नपुगेका थापा बिरामी हुँदादेखि मृत्युपश्चात् समेत नेपालीहरूले देखाएको सम्मान र सद्भावले एक लोकप्रिय नेता रहनुभएको पुष्टि हुन्छ।

Image

कोरोनाभाइरस सङ्क्रमित भएर गम्भीर अवस्थामा अस्पताल भर्ना भएपछि उहाँका लागि देश र विदेशमा रहेका नेपालीले उठाएको ठूलो राशिको सहयोगका साथै व्यक्त गरेका सद्भाव र शीघ्र स्वास्थ्यलाभको कामनाको सन्देश पनि उहाँको लोकप्रियता मापनको एउटा गतिलो उदाहरण बनेको छ।

धेरैका भनाइमा थापा यति धेरै लोकप्रिय हुनुमा उहाँको फरक धारको राजनीतिका साथसाथै नेपालका परम्परागत दल र नेताहरूको ‘सत्ता केन्द्रित’ राजनीतिसमेत जिम्मेवार छ।

यद्यपि उहाँको मृत्युपछि र बिरामी अवस्थामा पनि थापाप्रति देखिएको सद्भावले नेपालीहरू राजनीतिमा ‘देश र जनताका लागि काम गर्ने’ एउटा ‘नायक’को खोजीमा छन् भन्ने देखाएको बताउनेहरू पनि धेरै छन्।

खगोल तथा भौतिकशास्त्री बन्ने सपनादेखि उद्यमीसम्म

नेपालको एक चर्चित स्कूल बुढानीलकण्ठबाट कक्षा १२ (ओ लेभल) सम्म अध्ययन गरेका थापा त्यसपछि छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि अमेरिका जानुभएको थियो ।

तर उहाँ खगोल तथा भौतिकशास्त्री होइन त्यो पढाइ छाडेर वेब डिजाइनर बनेर नेपाल फर्किनुभयो।

उहाँ आफैँले लेखे अनुसार अमेरिकामै रहँदा उहाँ भौतिक दुनियाँबाट बिरक्तिएर बौद्ध भिक्षु बन्नसमेत तम्सिनुभएको थियो।

तर ‘नियतिको खेला अर्कै थियो’ उहाँ बौद्ध भिक्षुको साटो नेपालका एक जना चर्चित युवा नेता बन्न पुग्नुभयो।

उज्ज्वल थापा

उज्ज्वल थापा

२१ वर्षे उमेरमा बौद्ध भिक्षु बन्ने सोच बनाएका थापाले त्यसपछिको जीवनमा ुभिक्षुकै जस्तो सादा जीवन बाँचेकोु थापा आफैँले बताउनुभएको थियो ।

उहाँलाई नजिकबाट चिन्नेहरू पनि त्यसमा समर्थन जनाउँनुहुन्छ।

अमेरिकाबाट नेपाल फर्किएर राजनीति

नेपाल फर्किनुभएका थापाले स्वदेशमा उद्यमशीलता र समाजसेवा दुवैमा हात हाल्नुभयो।

सूचना प्रविधिसम्बन्धी कम्पनी खोलेर उद्यमी बन्ने पाइला चाल्नुभएका थापाले कफी खेतीमा समेत लगानी गर्नुभएको थियो।

द्वन्द्व रूपान्तरणबारे प्रशिक्षित भएर त्यस विषयमा जनचेतना फैलाउने अभियानबाट हाँले सामाजिक कार्यको थालनी गर्नुभयो ।

थापासहित विदेशमा अध्ययन गरेर फर्किएका युवाहरूको सक्रियतामा ुनेपालका लागि उद्योगीु नामक अभियानको सुरुवात भएको थियो।

त्यसमा सयौँ नेपाली युवा उद्यमीहरू आबद्ध भए र त्यो युवा उद्यमीका लागि एउटा छलफल र सहकार्यको माध्यम बन्न पुग्यो।

नेपाल फर्किएको केही वर्षसम्म थापा युवा उद्यमशीलता प्रवर्द्धनमै सक्रिय रहनुभयो।

खबरदारी अभियानकर्मीदेखि नेतासम्म

स्वदेश फर्किएर थापा उद्यमशीलता र समाजसेवामा सक्रिय भएका बेला नेपालमा राजनीतिक अस्थिरता चरम उत्कर्षमा थियो।

प्रथम संविधानसभा गठन भए पनि संविधान बन्न सकेको थिएन। कहिले यो समूह त कहिले त्यो समूहले हरेक दिनजस्तो बन्द र हडताल गर्ने गर्थे।

त्यसले आजित भएका केही युवासँग मिलेर थापाले २०६५ सालमा सामाजिक सञ्जालमा ‘बन्द विरुद्ध अभियान’का लागि एउटा समूह बनाउनुभयो।

Image

उक्त अभियानमा आबद्ध युवाहरू नेपाल बन्द घोषणा भएका दिन ‘नेपाल खुला छ’ भन्ने ब्यानर बोकेर सवारीसाधन चलाएर हिँड्ने गर्थे।

राजधानी काठमाण्डूको माइतीघर मण्डलमा त्यो समूहका सदस्यहरू बन्दका दिन पनि प्लेकार्ड बोकेर उभिन्थे।

राजनीति परिवर्तनका लागि अभियान

त्यसको एक वर्ष जति पछि थापाकै सक्रियतामा युवाहरूद्धारा ‘परिवर्तनका लागि हामी नेपाली एक’ अभियान सुरु भयो ।

संविधानसभा गठन भएको लामो समय भइसक्दा पनि संविधान बन्न नसकेको अवस्था थियो त्यो।

उनीहरूले सामाजिक सञ्जालदेखि सडकसम्म ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ भन्ने नारा घन्काए।

तर त्यस्ता अभियानले मात्र समाजमा परिवर्तन ल्याउन सम्भव नदेखेपछि आफूहरूले राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने सोच थापाले बनाउनभयो।

उहाँले विसं २०६९ विवेकशील नेपाली भन्ने समूह बनाउनुभयो।

उज्ज्वल थापा

उज्ज्वल थापा

निर्वाचनमा सहभागिता

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा विवेकशील नेपालीले काठमाडौंका चार क्षेत्रबाट स्वतन्त्र रूपमा आफ्ना उम्मेदवारहरू उठाएको थियो।

त्यस बेला थापा क्षेत्र नम्बर-५ बाट उम्मेदवार बन्नुभयो। तर उहाँले एकदमै थोरै मत पाउनुभयो।

दोस्रो संविधानसभाको निर्वाचनपछि भने २०७१ सालमा थापाकै नेतृत्वमा विवेकशील नेपाली दल गठन भयो।

उक्त दलले २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिँदा विशेष गरी काठमाडौं महानगरपालिकामा युवा रञ्जु दर्शनालाई मेयरको प्रतिस्पर्धी बनाएपछि निकै चर्चा पायो।

तर स्थानीय चुनावमा खासै सफलता नपाएपछि वैकल्पिक राजनीतिकै लागि भनेर स्थापना भएको अर्को दल साझा पार्टी र विवेकशील एक भए।

सामूहिक नेतृत्वको अवधारणमा अपनाएको उक्त दलमा थापा सहसंयोजक बन्नुभयो।

विवेकशील साझा दल
उक्त विवेकशील साझा दलले २०७४ सालको आम निर्वाचनमा भाग लियो तर चुनावी सफलता खासै पाउन सकेन।

विवेकशील साझा दल एक भएको १६ महिनापछि आन्तरिक विवादका कारण फुट्न पुग्यो र थापा पुनः विवेकशील दलको नेता बन्नुभयो ।

तर दुई कार्यकाल नेतृत्व गरेपछि उहाँले पार्टीको नेतृत्व सहज रूपमा मिलन पाण्डेलाई हस्तान्तरण गर्नुभयो।

त्यसपछि फेरि गत मङ्सिरमा विवेकशील र साझा दल एक भएर पुनः विवेकशील साझा दल गठन भएको छ।

थापा त्यसयता खुला राजनीतिमा कमै सक्रिय देखिनुभयो।

सुसंस्कृत राजनीतिको उदाहरण

युवा नेता थापालाई नजिकबाट चिन्नेहरू उहाँले नेपालमा ‘सुसंस्कृत र उदाहरणीय’ राजनीति गरेर गएको ठान्छन्।

त्यस्तैमध्ये एक रिपब्लिका दैनिक तथा माई रिपब्लिकाका प्रधान सम्पादक सुभाष घिमिरेका भनाइमा उहाँ ‘परिवर्तनकारी व्यक्तित्व’ हुनुहुन्थ्प्यो।

घिमिरे भन्नुहुन्छ, ‘म अमेरिकामा हुँदा पनि हामीजस्तो पढेको, बुझेको मान्छे स्वदेश फर्केर परिवर्तनका लागि काम गर्नुपर्छ भन्नुहुन्थ्यो।’

Former Bibeksheel Nepali Chair Thapa ‘critical’ even as he tests negative for COVID-19

उहाँ थापाले दुई कार्यकाल आफू पार्टीकै नेतृत्वमा रहेर त्यसपछि जसरी सहज रूपमा नेतृत्व हस्तान्तरण गर्नुभयो त्यसलाई नेपालको राजनीतिमा निकै ‘सुसंस्कृत’ मान्नुपर्ने बताउँनुहुन्छ।

उहाँकै पार्टीका कतिपय नेताहरूका भनाइमा थापाले नेपालमा अहिंसात्मक रूपमा परिवर्तनका लागि मुद्दाहरू उठाउन र त्यसलाई स्थापित गर्न सकिन्छ भन्ने छाप छाड्न सफल हुनुभएको छ।

त्यस्तै राजनीतिलाई नै पेसा बनाउने परम्परागत सोचविरुद्ध उहाँको अभियान नेपालीका लागि नौलो भएको कतिपयको भनाइ छ।

पृथक् पहिचान

थापा बुढानीलकण्ठमा अध्ययन गर्दा उहाँभन्दा दुई ब्याच अगाडि अध्ययन गरेका र उहाँको अभियानमा निकट रहँदै आएका समाजशास्त्री डा. दिनेश प्रसाईँका भनाइमा थापाले नेपाली राजनीतिमा पृथक् पहिचान बनाउनुभयो।

उहाँ भन्नुहुन्छ, ‘अहिलेको मूलधारको राजनीतिले युवा पुस्ताको आकाङ्क्षा पूरा गर्न सकेको छैन। भातृ सङ्गठनमा युवाहरू त छन् तर उनीहरूलाई प्रयोग मात्र गरिरहेका छन्।’

त्यस्तो अवस्थामा युवाले चाहिँ आफ्नो देश राम्रो बनाउनु पर्छ र हामीले जिम्मेवारी लिनुपर्छ भन्ने हुटहुटीका साथ उज्वलले वैकल्पिक राजनीति सुरु गर्नुभएको हो ।

शान्त, सभ्य र सुसंस्कृत तरिकाले राजनीति गर्नुको विकल्प छैन भनेर उहाँले अभियान सुरु गर्नुभएको हो । त्यसबाट उहाँले एउटा पृथक् पहिचान बनाउन सफल हुनुभयो ।

प्रसाईँका भनाइमा नेपाली राजनीतिमा युवाहरूलाई नेतृत्वमा ल्याउने काममा पनि थापाको भूमिकालाई स्मरणीय मानिएको छ ।

राजनीतिमा तरङ्ग
उद्यमशीलता नभइ देश विकास नहुने र पढेलेखेका देशविदेश देखेका युवाले नै परिवर्तन गर्न सक्छन् भन्नेमा उहाँमा दृढ विश्वास रहेको उहाँका गतिविधिले देखाउने गरेका थिए।

यद्यपि आलोचकहरूले थापालाई सहरिया उच्च र मध्यम वर्गका मुद्दा उठाउने खाले राजनीति गरेको र सैद्धान्तिक रूपमा प्रस्ट नभएको भन्ने गरेका छन्।

Image

विवेकशील नेपाली दल गठन गर्दादेखि अहिले विवेकशील साझा बन्दासम्म उक्त दल सैद्धान्तिक रूपमा स्पष्ट नरहेको भन्नेहरू निकै छन्।

तर घिमिरे पढेलेखेका, विदेश बसेका र अवसर पाएका व्यक्तिहरू फर्किएर राजनीतिमा आएकाले थापाले थालेको राजनीतिलाई सहर, उच्च र मध्यम वर्गीय खालको भन्ने आरोप लागेको ठान्नुहून्छ।

आलोचकका नजरमा उज्ज्वल सैद्धान्तिक रूपमा स्पष्ट नभएपनि उहाँले नेपालको राजनीतिमा वर्षौँदेखि जमेर रहेका विसङ्गतिमाथि सानै भए पनि प्रहार गर्नुभयो।

र त्यसले जमेको ठूलो पोखरीमा फालिएको सानो ढुंगाले झै नेपाली राजनीतिमा तरङ्ग पक्कै ल्याइदिएको छ।

तर त्यो तरङ्गलाई अझै फैलाउन नपाउँदै थापा ४४ वर्षको अल्पायुमै संसारबाट बिदा भए।(बीबीसीबाट)

 

Share Now

Leave a comment.