धनगढी(कैलाली), २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ।
गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले साविकको नेकपाको एकीकरण अवैधानिक भएर एकीकरण पूर्वका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएपछि सुदूरपश्चिमको प्रदेश सरकारको हैसियतमा प्रश्न उठ्दै आएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ।
प्रदेश सभामा नेकपा एमालेका २४ जना सदस्य छन्। नेकपा माओवादीका १३ जना छन्। नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी जसपा नेपालका दुई जना प्रदेश सभा सदस्य छन्।
एमालेका २४ मध्ये ९ जना प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा छन् भने बाँकी माधवकुमार नेपाल पक्षमा छन्।बहुमतमा रहेका नेपाल पक्षका सांसदले भट्टका पक्षमा मत दिएमा भट्टले विश्वासको मत जुटाउन सक्नुहुनेछ।
उक्त प्रस्तावको विरूद्ध मतदान गर्न नेकपा एमालेले निर्देशन जारी गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशनसमेत दिएको छ।
एमाले प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई मुख्यमन्त्री भट्टले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप लगाउने निर्देशनसहित पत्र पठाउनुभएको छ।
तर संसदीय दलमा नेपाल पक्षको बहुमत रहेकोले ह्वीप लगाउने नलगाउने सम्बन्धमा संसदीय दलका नेताको निर्णय आइसकेको छैन ।
कांग्रेसले मुख्यमन्त्री भट्टलाई विश्वासको मतको प्रस्तावमा पक्ष वा विपक्षमा मतदान गर्नेबारे खुलाएको छैन।
जसपाले पनि पार्टीभित्र केन्द्रमा विबाद रहेकोले के गर्ने भन्ने निर्णय गरिसकेको छैन। जसपाका दुई जना प्रदेश सभा सदस्य नै अध्यक्ष महन्थ ठाकुरनिकट हुनुहुन्छ।


















