Prakash Adhikari June 9, 2021

काठमाडौं, २६ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा व्यवस्था गरिएको ढुंगा खानी उत्खनन र गिटी,बालुवा तथा ढुंगा निकासीको विषयमा अति राजनीतिकरण भएको बताउनुभएको छ ।

नेपाल वातावरण पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले खानी विभागले पहिचान गरेका स्थानबाट मात्र वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य सामग्री उत्खनन हुने बताउनुभयो।

उहाँले नेपाल सरकारले नै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गरिरहेकोल आफ्नै नीति,कार्यक्रम प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

उहाँले चुरे क्षेत्रसँग सम्बन्धित नभएको विषयलाई चुरेसँग जोडेर राजनीति नगर्न आग्रह गर्दै भन्नुभयो, “भौगोलिक रुपमा कमजोर रहेको चुरे क्षेत्रमा कुनै पनि दोहन हुन दिइने छैन ।”

उपप्रधान तथा अर्थमन्त्री पौडेलले वातावरण र प्राकृतिक सम्पदाको संरक्षणमा प्रतिकूल हुने स्थानमा नभई वैज्ञानिक हिसाबले उपयुक्त स्थान मात्र उत्‍खनन् हुने जानकारी दिनुभयो।

उहाँले प्राकृतिक सम्पदाको संरक्षणमा कसैसँग पनि लेनदेन हुन नसक्ने भन्दै प्राकितिक स्रोत दोहन गर्नेलाई कडाइका साथ कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले पूर्वदेखि पश्चिम क्षेत्रमा रहेका चुरे मात्रै हैन हिमाल र महाभारत क्षेत्रको संरक्षण गर्न पनि सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले सिद्धबाबामा सुरुडमार्ग बनाउन टेण्डर प्रक्रिया सुरु भैसकेको जानकारी दिंदै यथार्थ र तथ्यलाई लुकाएर विद्धतवर्गले सिद्धबाबाको डाँडो काट्ने, खन्ने र उत्खनन गर्न नदिने कार्यमा आफू नै सक्रिय रुपमा लागिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले तराईँलाई मरुभूमिकरण हुन नदिन सरकारले प्रत्येक वर्ष चुरे संरक्षणका लागि डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको भन्दै वैज्ञानिक रुपमा खानीजन्य सामग्रीको उत्खनन गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका अध्यक्ष डा किरण पौड्यालले खानी उत्खनन भन्दैमा पूर्व पश्चिमको चुरे नपर्ने स्पष्ट पार्दै चुरे क्षेत्रमा खानी उत्खननको प्रस्ताव आए रोक्ने बताउनुभयो।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले भौगोलिक र वैज्ञानिक हिसाबले खानी निकाल्न सकिने ठाउँमा मात्र उत्खनन गर्न सकिने भन्दै पहिला देशभित्रको आवश्यकतालाई पूरा गर्ने र त्यसपछि निर्यात पनि गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*