Prakash Adhikari February 16, 2018

जोहान्सवर्ग(दक्षिण अफ्रिका), ३ फागुन (बीबीसी)। दक्षिण अफ्रिकाको संसदले सिरिल रामापोसालाई नयाँ राष्ट्रपतिको रुपमा नियुक्त गरेको छ।

विवादित राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामापोसालाई राष्ट्रपति पदमा चयन गरेको थियो।

प्रधान न्यायाधीश मोख्वेङ मोख्वेङले रामापोसा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

सांसदहरुलाई संबोधन गर्दै रामापोसाले जनताको जीवनस्तर सुधार्न सबै दलहरुसंग मिलेर काम गर्ने बताए।

उनले भ्रष्टाचारसंग जुध्ने आफ्नो प्राथमिकता हुने बताए।

उनले दक्षिण अफ्रिकी जनतालाई निराश हुन नदिन आफुले कडा मेहनत गर्ने पनि जनाए।

राजीनामा

यसअघि आफ्नो दलको तीव्र दबाब पछि दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामाको घोषणा गरेका थिए।

यसअघि सत्तारूढ अफ्रिकन न्याशनल कँग्रेस (एएनसी) ले राजीनामा दिन अथवा सदनमा महाभियोगको सामना गर्नका लागि तयार रहन जुमालाई चेतावनी दिएको थियो ,पद छोड्न लागेको घोषणा गर्न क्यामेरासामु उपस्थित भएका जुमा थकित देखिएका थिए।

गल्ती गरेको स्वीकार्दै उनले आफू र अरू कोही पनि पूर्ण नभएको बताए।

यसअघि सत्तारूढ अफ्रिकन न्याशनल कँग्रेस (एएनसी) ले राजीनामा दिन अथवा सदनमा महाभियोगको सामना गर्नका लागि तयार रहन जुमालाई चेतावनी दिएको थियो।

उपराष्ट्रपति एवं पार्टी सभापति सिरिल रामापोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि दवाब बढ्दो थियो।

भ्रष्टाचारसहितका कैयौँ आरोप झेलिरहेका जुमा सन् २००९ देखि सत्तामा थिए।

नवनियुक्त राष्ट्रपति रामापोसाले गएको डिसेम्बर महिनादेखि सत्तारुढ दलको नेतृत्व गरिरहेका थिए।

६५ वर्षीय रामापोसा दक्षिण अफ्रिकाका सबैभन्दा धनाढ्य व्यापारीहरुमध्ये एक हुन्।

उनी सन् १९९० मा नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित कमिटिका अध्यक्ष थिए।

उनी दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल पनि परेका थिए।

हाम्रा संवाददाता भन्छन्, अब उनले देशको धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र व्याप्त भ्रष्टाचारसंग जुध्नुपर्नेछ।

Share Now

Leave a comment.