Prakash Adhikari June 12, 2021

पोखरा(कास्की), २९ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र उहाँको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुलाई सपथ ग्रहण गराउनुभएको छ ।

संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुख पौडेलले नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलको मन्त्रिपरिषद्मा प्रवेश पाउनेहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशहरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुड. उर्फ दीपक मनाङे हुनुहुन्छ।

मुख्यमन्त्री पोखरेलले मन्त्रीहरुको विभागी मन्त्रालय छुट्याउनु भएको छैन । नवनियुक्त चारै जना मन्त्री बिना विभागीय हुनुहुन्छ।

सर्वोच्च अदालतको २०७७ साल फागुन २३ गतेको फैसलाले २०७४ सालको निर्वाचनमा वामपन्थी गठबन्धन गरी २०७५ जेठ ३ गते एकीकृत बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकीकरण वैधानिक नभएको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्दको अस्तित्व पुनर्जीवित भएपछि नेकपा एमालेको नेतृत्वमा रहेको गण्डकीको सरकार संकटमा परेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेको जम्मा २७ सीट छ भने कांग्रेसको १५,नेकपा माओवादीको सभामुखसहित १२, जनता समाजवादीको २ जना,राष्ट्रिय जनमोर्चाको ३ सीट(एक जनालाई पार्टी ह्वीप नमानेकोमा कारबाही गरिएकोमा सर्वोच्चले पुनस्थापना गरेकोमा फेरि संसदीयदलले कारबाही गरेको छ), र स्वतन्त्र सांसद राजीव गुरुड. हुनुहुन्छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता रहनुभएका मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ।

Share Now

Leave a comment.