Prakash Adhikari June 12, 2021

कोपनहेगन(डेनमार्क), २९ जेठ । युरो कपको दोस्रो दिन डेनमार्क र फिनल्याण्डको बीचमा भैरहेको खेलमा मैदानमा ढलेका डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन एरिक्सन मैदानबाट अस्पताल लैजाने क्रममा होसमा आएको तस्वीर सार्वजनिक भएको छ ।

 

युरोपेली फुटबलका प्रमुखले अस्पतालमा उनी होसमा आएकोले खेल पुन सञ्चालन हुने जानकारी दिएको रोयटर्स समाचार एजेन्सीले लेखेको छ ।

यता एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको थियो । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।

शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्लै हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।

तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो ।

टेलिभिजन फुटेजमा उनको छातीमा मेडिकल टिमले दबाब (सीपीआर) दिइरहेको देख्न सकिन्थ्यो । मैदानमा उपस्थित दर्शक घटनाले स्तब्ध बनेका थिए भने उनका समकक्षीहरु आँशु थाम्न सकिरहेका थिएनन् ।

मैदान छाड्दै गर्दा भने उनलाई होसमा रहेको देखिएको थियो ।

उनको स्वास्थ्य अवस्थाबारे समाचार तयार पार्दासम्म औपचारिक जानकारी आएको छैन ।

 

Share Now

Leave a comment.