काठमाडौं, ३० जेठ । नेपालमा विगत २४ घण्टामा २ हजार ४ सय ७ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिडका कारण थप ४६ जनाको मृत्यु भएको छ।
आइतवार अपराह्ण प्रकाशित विवरणअनुसार ३ हजार ९ सय ९४ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा निको हुने दर ८७.३ प्रतिशत छ भने मृत्यु दर १.६ प्रतिशत रहेको छ।
नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या ६ लाख २९ हजार हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा केही बढी छ।
मन्त्रालयका अनुसार ३८ प्रतिशत सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा छन्। तीमध्ये काठमाडौंमा हुनेको सङ्ख्या सर्वाधिक छ।
अहिले ४४ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।. कृष्णप्रसाद पौडेलले बताउनुभएका छ।
त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८ हजार ४ सय नाघेको छ।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत २४ घण्टामा कुल १२ हजार ४ सय ६ जनाको परीक्षण गरिएको थियो।
ती मध्ये ७ हजार ५ सय १७ जनाको पीसीआर र ४ हजार ८ सय ८९ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो।
परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर २२ प्रतिशत रहेकोमा सबैभन्दा उच्च कर्णाली प्रदेशमा ४२ प्रतिशत पाइएको मन्त्रालयले जनाएको छ।

खोप लगाउँदै
पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ३९ प्रतिशतजति र पुरुष ६१ प्रतिशतजति रहेका छन्।
हाल आईसीयूमा रहेका बिरामीको सङ्ख्या १ हजार १सय रहेको छ भने भेन्टिलेटरमा ३ सय ४७ जना रहेको मन्त्रालयको तथ्याङ्क छ।
१० जिल्लामा बढ्दो सङ्क्रमण
देशभरि सङ्क्रमण घट्ने क्रममा पाइए पनि पछिल्ला दुई सातामा नेपालका १० जिल्लामा अन्यत्रको तुलनामा सङ्क्रमित बढ्ने क्रममा देखिएको मन्त्रालयले जनाएको छ।
ती जिल्लाहरू उदयपुर, पाँचथर, तेह्रथुम, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, डोटी र दैलेख छन्।
तर परीक्षण गर्ने कुल क्षमताभन्दा आधा मात्र परीक्षण हुन सकेको स्वास्थ्य प्रवक्ताले बताएका छन्।
प्रवक्ता डा।. पौडेल भन्नुहुन्छ, ” वैशाखको अन्तिम र जेठको सुरुवाती केही दिनको तथ्याङ्क हेर्दा ृअहिलेको साताको तथ्याङ्के एकतिहाइ कम हो। त्यतिखेर ६१ हजार ८ सय १४ जना सङ्क्रमित पत्ता लागेका थिए। तर सङ्क्रमित पत्ता लाग्ने अहिलेको दर उच्च नै छ।”
भारतमा सङ्क्रमण घट्दो क्रममा
विगत २४ घण्टामा भारतमा ८० हजार ८ सय ३४ नयाँ कोरोनाभाइरस सङ्क्रमित पुष्टि भएका छन् भने सोही अवधिमा ३ हजार ३ सय ३ जनाको कोभिडका कारण मृत्यु भएको सरकारी तथ्याङ्क छ।
नेपालको दक्षिणी छिमेकी देशमा दैनिक एक लाखभन्दा कम देखिनेगरी सङ्क्रमण घटिरहेको देखिन्छ।
यससँगै अहिलेसम्म त्यहाँ २ करोड ९४ लाखभन्दा धेरै जनामा कोभिड पुष्टि हुनुका साथै ३ लाख ७० हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ २५ करोड जनाभन्दा धेरै मानिसले कोभिड खोप लगाएका छन्।
यसैबीच आइतवार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमवारबाट त्यहाँ रेस्टुराँ आधा क्षमतामा खुल्ने बताउनुभएको छ।
केजरीवालले पसल र मलहरू बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुल्ने बताउनुभएको छ।
तर त्यसको प्रभाव हेर्दै एक सातापछि खुकुलो पारिएको प्रतिबन्धबारे पुनः समीक्षा गरिने उहाँले बताउनुभएको छ ।


















