काठमाडौं, ३१ जेठ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी सरकारबाटै असुरक्षित भएको भन्दै बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले सरकारसगै सुरक्षाको माग गरेको छ।
अलायन्स र नागरिक आन्दोलनले जेठ ३० गते एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले आइतबार (जेठ ३० गते)उहाँलाई बालुवाटार बोलाएर झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिएको उल्लेख गरेका छन्।
यही जेठ २८ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा सो मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा मतैक्यता नभएर विज्ञ सदस्यहरुले नै आवश्यक प्रक्रिया पूरा गरेरमात्र सम्बन्धन दिन उचित हुने तर्क राखेपछि सो विषय निष्कर्षबिहिन भएको थियो ।
तर प्रधानमन्त्रीले आइतबार अनावश्यक दबाब दिनुभएको र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले समेत उपाध्यक्ष डा. गिरीलाई कि सम्बन्धन दिने निर्णयमा हस्ताक्षर नभए राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएको अलायन्स र सोलिडायरिटीको संयुक्त वक्तव्यमा उल्लेख छ ।
विज्ञप्तिमा प्रधानमन्त्रीको निवासलाई गुण्डागर्दीको केन्द्र बनाइएको आरोप लगाउदै यसले डा गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको उल्लेख गरिएको छ । दुवै संस्थाले चिकित्सा शिक्षा आयोगको स्वायत्तता र आयोगका उपाध्यक्ष डा.गिरीको भोतिक र मानसिक सुरक्षाको प्रत्याभूति गर्न सरकार र नागरिक समाजसमक्ष पनि अपील गरेका छन्।
संयुक्त विज्ञप्तिमा राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भर्त्सनायोग्य भएको पनि उल्लेख गरिएको छ ।


















