Prakash Adhikari June 14, 2021

जेरुसेलम(इजरायल), ३१ जेठ (बीबीसी) । इजरायलमा १२ बर्षपछि नयाँ प्रधानमन्त्री चुनिएका छन् ।

इजरायली संसद् नेसेटले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाउनुभएको हो।

दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले परिवर्तनको सरकारु को नेतृत्व गर्दै शपथ ग्रहण गर्नुभएको छ।

अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिनुभएको हो।

सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उहाँ सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहनुहुनेछ।

त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नुहुनेछ।

नेतान्याहु इजरायलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुनुहुन्छ।

इजरायलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उहाँ दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहनु हुनेछ।

संसद्‌मा भएको छलफलमा बोल्दै नेतान्याहुले भन्नुभयो, ूहामी फेरि फर्किने छौं।ू

मतदान सकिएपछि नेतान्याहुले प्रधानमन्त्री निर्वाचित बेनेटतर्फ हिँडेर गई हात मिलाउनुभएको थियो।

तर प्यालेस्टिनीहरूका प्रतिनिधिले इजरायलको नयाँ सरकारलाई खासै चासो नदिने किसिमको प्रतिक्रिया जनाउनुभएको छ।

“यो इजरायलीहरूको आन्तरिक मामिला हो। हाम्रो धारणा स्पष्ट छ। हामी सन् १९६७ को सिमानामा आधारित र जेरूसलेम राजधानी रहेको प्यालेस्टिनी राज्य चाहन्छौं”, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एक जना प्रवक्ताले भन्नुभएको छ।

गाजामा नियन्त्रण जमाएको हमास समूहका प्रवक्ताले इजरायललाई एउटा उपनिवेशवादी निकाय भन्दै बलको प्रयोग गरी प्रतिरोध गरेर आफ्नो अधिकारहरू फिर्ता लिनुपर्ने बताउनुभयो।

अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई सन्देश पठाउँदै आफूले उनीसँग काम गर्न चाहेको बताउनुभएको छ।

नेतान्याहुले अब के गर्लान् ?

बीबीसीका मध्यपूर्व संवाददाता टोम बेट्मन भन्नुहुन्छ, “पुराना बानीहरू त्याग्न गाह्रो हुन्छ।” उहाँका अनुसार विश्वासको मतको परिणाम घोषणा भएपछि बेन्जामिन नेतान्याहु संसद् भवनभित्र प्रधानमन्त्री बस्ने चेम्बरमा गएर बस्नुभएको थियो।

खासमा उहाँ विपक्षी बस्ने बेन्चमा बस्नुपर्ने थियो। बेट्मनका विचारमा इजरायलका सर्वाधिक लामो समयका नेताको बहिर्गमन एउटा राजनीतिक इतिहासको क्षण थियो। तर उहाँ तत्कालका लागि कतै पनि जाने देखिँदैनन्।

नेतान्याहुले विपक्षीको रूपमा नयाँ गठबन्धन निर्माण र अहिलेको गठबन्धन तोड्ने प्रयास जारी राख्ने बताइएको छ।

यो अहिलेसम्मको सबैभन्दा बृहत् गठबन्धन भएकाले अझ अस्थिर हुनसक्ने सम्भावना छ।

नेतान्याहु

नेतान्याहु : मतदानको समयमा नेतान्याहुका विपक्षीहरू संसद भवनबाहिर भेला भएका थिए

नाफ्ताली बेनेटले सबै दललाई एक ठाउँमा उभ्याएर अघि बढ्नुपर्नेछ।

यस्तो किन भयो ?

नेतान्याहुले पाँचवटा कार्यकाल शासन गरेका छन्। सबैभन्दा सुरुमा सन् १९९६ देखि १९९९ सम्म सत्ता सम्हाल्नुभएका उहाँ सन् २००९ देखि २०२१ सम्म निरन्तर शक्तिमा रहनुभएको छ।

सन् २०१९ को एप्रिलमा उहाँले चुनाव घोषणा गर्नुभएको थियो।

तर त्यसमा उहाँ नयाँ गठबन्धन निर्माण गर्ने गरी पर्याप्त मत पाउन विफल हुनुभयो। त्यसपछि गरिएका दुईवटा चुनाव पनि निष्कर्षमा पुग्न सकेनन्।

तेस्रो चुनावपछि उहाँले तत्कालीन विपक्षी नेता बेनी गान्त्ससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुभयो।

तर बेनीगान्त्ससँग गरेको सम्झौता भङ्ग भएपछि गएको मार्चमा इजरेल पुनः चुनावमा गएको थियो।

उक्त निर्वाचनमा लिकुड ठूलो दलका रूपमा निर्वाचित भए पनि नेतान्याहुले फेरि सरकार गठन गर्न सक्नुभएन।

त्यही भएर दोस्रो स्थानमा आएको येश अटिड पार्टीका नेता लापिडलाई सरकार बनाउन बोलाइयो।

नेतान्याहु सत्तामा बसिरहेको विरोध गर्ने समूहहरू सबै एक ठाउँमा उभिए। त्यसमा वामपन्थीदेखि मध्यपन्थी वा लिकुडसँग मिल्दोजुल्दो विचार राख्ने यामिना सहितका दक्षिणपन्थी दल पनि थिए।

सात सिटमात्र जितेर निर्वाचनमा संयुक्त रूपमा पाँचौ स्थानमा आएको यामिनाको समर्थन नयाँ गठबन्धन निर्माणका लागि अनिवार्य थियो।

हप्तौँको सघन वार्तापछि लापिडले नेतान्याहुलाई पदबाट मुक्त गर्ने साझा उद्देश्य सहितको गठबन्धन निर्माण गर्नुभयो।

आठवटा समूहले गरेको उक्त सम्झौता सरकार गठनका लागि समर्थन जुटाउन दिइएको जुन २ को समय सीमा सकिनु आधा घण्टा अघिमात्रै हस्ताक्षर गरिएको थियो।

 

Share Now

Leave a comment.